close

कोरोनाको तेस्रो लहर रोक्न बाँकेका स्थानीय तह सक्रिय (भिडियो खबर)

कोरोनाको तेस्रो लहर रोक्न बाँकेका स्थानीय तह सक्रिय (भिडियो खबर)

ADVERTISEMENT

बाँके- बाँकेमा कोरोना महामारीको पहिलो लहरमा जिल्लामा कुल १ सय ४२ जनामा कोरोना संक्रमण हुँदा अधिकांश संक्रमित नरैनापुर गाउँपालिकाका थिए । नरैनापुर नेपाल-भारत सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतबाट युवाहरु धमाधम घर फर्किए । जसका कारण तत्कालिन अवस्थामा पालिकामा एक सातामै संक्रमित ह्वात्तै बढे । जसले गर्दा नरैनापुरमा कोरोना संक्रमणको अवस्था ‘भयावह’ बन्यो । तर, अहिले बौरिएको बाँकेले महामारीको तेस्रो लहर रोक्ने गरी तयारी सुरु गरेको छ ।

 
२०७७ जेठ २ गते पहिलो पटक ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । बाटो, बिजुली र अस्पताल जस्ता आधारभूत कुराको अनुभव गर्न नपाएको नरैनापुरले अचानक आईपरेको विपत्तिलाई कसरी सामना गर्ने भन्ने कुराको भेउ पाउन सकेन । त्यस लगत्तै क्वारेन्टिनमै बसेको अवस्थामा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय युवकको कोरोना संक्रमणबाटै मृत्यु भयो ।

 

नरैनापुर केन्द्र र प्रदेश सरकारको नजरमा मृत्युको घटना पर्यो र सबैको सहयोगले कोरोनाको सन्त्रासबाट मुक्ति पायो । नरैनापुरले कोरोना संक्रमणको दोस्रो लहरमा भने आवश्यक पुर्वतयारी, क्वारेन्टिनको व्यवस्था, प्रक्रियागत र सबैको ऐक्यबद्धताका कारण कोरोना संक्रमणबाट धेरै क्षति बेहोर्नु परेन । 

 

संक्रमणको दोस्रो लहरमा बाँकेको राप्तिसोनारी गाँउपालिकाका अधिकांश कर्मचारी र जनप्रतिनिधि संक्रमित भएपछि पालिकाले दिने सेवा ठप्प हुनुका साथै पालिका नै शिल गर्नु परेको अवस्था थियो । तर, बेलैमा त्यहाँका जनप्रतिनिधि, राजनीतिक दल, रेडक्रस लगायतका सामाजिक संस्था सबैको सहयोगमा अहिले गाउँपालिकामा संक्रमण शुन्यको अवस्थामा पुगेको छ । एकल प्रयासले मात्र केहि गर्न नसकिनेमा राप्तिसोनारीका अध्यक्ष लाहुराम थारु जोड दिन्छन् । 

 

अहिले बाँकेका ८ वटै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल र आईसोलेसन बन्द भएका छन् । भेरी अस्पतालमा विरामीको संङ्ख्या घट्दै गएको छ । अस्पतालमा हाल २५ जना बिरामी भर्ना छन् । बाँके प्रशासनले भने कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वतयारीमा जुटेको बताएको छ । 

 

हुन पनि बाँकेमा कोरोना संक्रमण भयावह हुँदा सिंगो मुलुक नै त्रसित बनेको थियो । संक्रमितको मृत्यु हुन थाल्दा नै सरकारलाई दोस्रो लहरको चेतावनी मिलेको थियो । तर, बाँकेले आफ्नै सामथ्र्यमा महामारी नियन्त्रण गर्न सफल भयो । यो सुखद पक्ष हो । तर, महामारीलाई अझै कम नआकौँ । सबैले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । त्यसैले मास्कको प्रयोग गर्ने बानी बसालौँ ।