close

संरक्षणको पर्खाइमा गोकुलेश्वर धाम (भिडियो खबर)

संरक्षणको पर्खाइमा गोकुलेश्वर धाम (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- बैतडी जिल्लालाई देवभूमि भनेरै चिनिएको छ । उसैपनि यस जिल्लाका धेरैजसो स्थानीय तहका नाम देवताकै नामबाट राखिएका छन् । यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना भएपनि धार्मिक तथा सांस्कृतिक स्थल सरंक्षणको अभावले ओझेलमा परेका छन् ।

 

जिल्लाको डिलाशैनी गाउँपालिका-६ मा रहेको गोकुलेश्वर महादेवको मन्दिर रहेको धाम संरक्षणको अभावमा ओझेलमा परेको हाे । गोकुलेश्वर मन्दिर विगतमा निकै चर्चित धार्मिक स्थल हो । यहाँ जन्मदेखि मृत्युसम्मका सबै प्रकारका शुभ कार्य गरिन्थे भने दैनिक विभिन्न जिल्लाबाट दर्शनार्थी आएर दर्शन गर्दथे ।

 

विगतमा मन्दिरको छेउमै घोरेटो बाटो र बजार समेत थियो । जब सडक महाकाली लोकमार्ग अलिकति माथिबाट निर्माण भयो तब बजार पनि विस्थापित भयो । चहलपहल हुन छाड्यो र मन्दिर झनै आझेलमा पर्‍यो । पर्यटकहरु नजिकै रहेका अन्य मन्दिरमा जान थालेपछि गोकुलेश्वर महादेवको मन्दिरलाई नजर लगाउन छाडियो । करिव २ दशक अघिसम्म अत्यन्त चहलपहल हुने उक्त धाम अहिले भने सुनसान छ । कहिलेकाहीँ विगतमा धामको महत्व थाहा पाएका मात्रै धाममा शुभकार्यका लागि पुग्ने गरेका छन् । 


गोकुलेश्वर महादेवको मन्दिरमा कुँदिएका मुर्ति, मन्दिरभित्र राखिएका सामग्री सबै कलात्मक छन् । विगतमा स्थानीयले संरक्षण गरेको ऐतिहासिक धार्मिक स्थल संरक्षणमा अहिले कसैको ध्यान नगएपछि अलपत्र परेको छ । धामकै गरिमा जोगाउन विगतमा लाग्ने गोकुलेश्वर मेला अहिले पनि महाशिवरात्रिमा भव्यताका साथ लाग्दछ । तर, मेला व्यापारिक मात्र हुन पुगेको छ । गोकुलेश्वर महादेव धाम संरक्षणमा राज्यको ध्यान जानुपर्ने स्थानीयको माग छ । 


डिलाशैनी गाउँपालिकामा यस्ता धेरै धार्मिक स्थल छन् । यि धार्मिक स्थलको सरंक्षण गर्न सकेमा धार्मिक पर्यटन प्रवद्र्धन हुने पक्का छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिका केही धार्मिक स्थल संरक्षण गरिरहेको गाउँपालिकाको भनाई छ । तर, विगतमा अत्यन्तै चर्चामा रहेको गोकुलेश्वर महादेव धाममा गाउँपालिकाको नजर पनि गएको देखिदैन । 


गाउँपालिकाले मात्रै नभई बैतडी जिल्लाले नै धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ । यहाँ रहेका प्रसिद्ध धामको विकास र संरक्षणमा सरकारको ध्यान गएमा अन्य क्षेत्रको पर्यटन भन्दा पनि धार्मिक पर्यटनको सम्भावना रहेका ठाउँमा पर्यटक भित्र्याउन सकिनेछ ।