close

तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी

तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिनेछ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार नगरप्रमुख वासुदेव घिमिरेले सुरु गरे ।

 

नगरपालिकाले सम्पत्ति कर, घर वहाल कर, व्यवसाय करलगायत राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्न लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै सेवा दिन थालेको नगरप्रमुख घिमिरेले बताए । 

 

कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदातालाई सहज हुने उनको भनाइ छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउनसमेत सहज हुनेछ ।


यसबाट कुन क्षेत्रमा के–कति कर उठाउन बाँकी छ भन्ने तथ्यांक आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ । करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिनेछ ।


यो प्रणालीले राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालय गएर विवरण अद्यावधिक गराउनुपर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ ।

 

पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए । नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने अनुभूति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे । अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने उनले बताए । 

 

करदाताको विवरण ई–पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र कोड प्राप्त हुन्छ । यहीँ कोडका आधारमा पछिल्लो पटक मोबाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ । यो प्रणालीमा २ वटा पोर्टल छन् । एउटा पब्लिक र अर्को कोर । पब्लिक पोर्टल करदाताका लागि र कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीले प्रयोग गर्नेछन् ।

 

पब्लिक पोर्टलमा करदाताका आफू सम्बन्धित घर-जग्गा, सम्पत्ति, व्यवसायजस्ता व्यक्तिगत विवरण हुन्छन् । यो पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरका दरबारे थाहा पाउन सकिनेछ । पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्नेछन् । यसमा करदाताले नगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांक करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ ।


करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउने सूचना प्रविधि अधिकृत सुदीप ढकालले जानकारी दिए । करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानीगर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकमसम्बन्धी सूचना एसएमएसबाट प्राप्त हुनेछ ।

 

यसैबीच तिलोत्तमाले मंगलबार नै सेवा प्रवाहसम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाले अनलाइन राजस्वसहित ई-पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिस्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयमा मोबाइल एप्लिकेसन, हेल्लो मेयर सिस्टम, डकुमेन्ट व्यवस्थापन सिस्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिस्टम लन्च गरेको हो ।