close

कटारी टुक्र्याउने प्रस्ताव तत्काल सिफारिस गरिदिन मुख्यमन्त्रीलाई आग्रह

कटारी टुक्र्याउने प्रस्ताव तत्काल सिफारिस गरिदिन मुख्यमन्त्रीलाई आग्रह

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव तत्काल संघीय सरकारसमक्ष सिफारिस गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरिएको छ । कटारी नगरका माथिल्लो पहाडी भेगका ५ वडालाई समेटेर छुट्टै स्थानीय तह गाउँपालिका निर्माण गर्न स्थानीयको मागलाई कटारी नगरपालिकाको नगरसभाले पास गरी प्रदेश सरकारसमक्ष सिफारिस गरेको थियो । 


नगरपालिकाको नगरसभा र जिल्ला समन्वय समिति उदयपुर हुँदै प्रदेश सरकारसमक्ष सिफारिस भइसकेकाले प्रदेश सरकारलाई पनि सिफारिस गरिदिन माग गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर तत्काल संघीय सरकारसमक्ष माग सिफारिस गरिदिन सहजीकरण समितिले आग्रह गरेको हो ।

 

१४ वटा वडा रहेको नगरपालिकाका वडा नम्बर ९, १०, ११, १३ र १४ नम्बर वडालाई समेटेर छुट्टै गाउँपालिका निर्माणको माग गरिएको छ । नगरपालिकाको कुल ५६ हजार १ सय ४६ जनसंख्यामध्ये ती वडामा मात्रै १८ हजार ५ सय ६६ जनसंख्या रहेको समितिले जनाएको छ ।


गाउँपालिकाको मापदण्डको आधारमा भूगोल, जनसंख्या र भौतिक पूर्वाधारपुग्ने भएकाले संविधानको धारा २९५ को विभिन्न दफामा समेत गाउँपालिका निर्माण गर्न सकिने व्यवस्था भएअनुसार गाउँपालिका निर्माण गर्न सकिने समितिका संयोजक अम्बरबहादुर मगरले बताए ।