close

शुक्लागण्डकीमा बाँडियो ६६२ अपांगता परिचयपत्र

शुक्लागण्डकीमा बाँडियो ६६२ अपांगता परिचयपत्र

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले हालसम्म ६६२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सबैभन्दा वढी अति अशक्त ख वर्गका २६७ जनाले प्राप्त गरेको सामाजिक विकास शाखाले जनाएको छ । 


१६७ जना पूर्ण अशक्त क वर्गका र १४५ मध्यम अपांगता भएका ग वर्गकाले परिचयपत्र लिएका छन् । घ वर्गको परिचयपत्र लिने सामान्य अपांगता भएकाको संख्या ८२ रहेको शाखाले जानकारी दिएको छ । नगरपालिकाले हरेक महिना परिचयपत्र वितरण शिविर सञ्चालन गर्दै आएको सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले बताइन् ।

 

यो साता पनि नगरपालिकामा शिविर चलाइएको थियो । शिविरबाट ८ जनाले परिचयपत्र लिएको उनले बताइन् । उनका अनुसार क र ख वर्गका ३/३ जनाले र ग वर्गका २ जनाले परिचयपत्र पाए । नगरपालिकाले बनाएको कार्यविधिअनुसार ढोर फूलबारी शहिद अस्पताल साँखेमा कार्यरत डा.प्रतीक्षा आलेले शारीरिक अपांगता चेकजाँच गरेपछि परिचयपत्रको वर्ग निर्धारण गरी वितरण गरिएको हो ।

 

नगरपालिकासम्म आउन नसक्नेका लागि घरमै पुगेर परिचयपत्र दिइने गरेको पोखरेल बताउँछिन् । ‘नगरपालिकामा महिनामा एकपटक शिविर गरेर दिन्छौँ । नसक्ने अवस्था छ भने डाक्टरसहितको टोलीले घरमै पुगेर दिँदै आएको छ । जसरी हुन्छ परिचयपत्र लिनबाट कोही छुट्नुहुँदैन भन्ने हाम्रो मान्यता हो’, उनले भनिन् ।

 

परिचयपत्र वितरणको जिम्मा स्थानीय तहले पाएपछि अपांगता भएकालाई सहज भएको अपांगता समन्वय समिति शुक्लागण्डकीका सदस्य दामोदर रेग्मीले बताए ।

 

‘परिचयपत्र लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था अन्त्य भएको छ । यसले आर्थिक भार पनि कम हुने भयो’, उनले भने । अधिकारबाट सुसूचित नभएका पनि स्थानीय तहबाट परिचयपत्र वितरणले लाभन्वित भएका उनको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधि आउनुअघि जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले अपांगता परिचय वितरण गर्दैैै आएको थियो । ३ वर्षयता स्थानीय तहले नै परिचयपत्र वितरण गर्न थालेका छन् ।


अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार अपांगता भएकाले स्थानीय तहबाट अपांगता परिचयपत्र पाउँछन् । क र ख वर्गको परिचयपत्र भएकालाई राज्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछ । ग र घ वर्गकाले भने राज्यले प्रदान गर्ने सेवा–सुविधामा कोटा प्रणालीको व्यवस्था गरेको छ ।