close

 युवालाई उद्यमी बनाउँदै चाँगुनारायण (भिडियो खबर)

 युवालाई उद्यमी बनाउँदै चाँगुनारायण (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- कोरोना महामारी र त्यसपछि गरिएको पटकपटकको लकडाउन र निषेधाज्ञाले नेपाली अर्थतन्त्रमा समेत असर पर्‍यो । वैदेशिक रोजगारीमा गएका युवा फर्किए । स्वदेशमै रोजगारी गर्दै आएका युवाको पनि रोजगारी खोसियो । जसका कारण बेरोजगार युवाको संख्यामा वृद्धि भयो ।

 

रोजगारको लागि केही युवाले स्वरोजगार तिर लागे भने कोही आर्थिक अभावका कारण बेरोजगारी मै सीमित भए ।  तर, भक्तपुरको चाँगुनारायण नगरपालिकाले उद्यमी युवालाई तीन लाख रुपैयाँ ऋण वितरण गर्न थालेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले उद्यमी बन्न चाहने युवालाई र्निब्याजी तीन लाख रुपैयाँ ऋण वितरणको सुरुवात गरेको छ ।

 

पालिकाले नगरभित्रका २ सय ६२ जना युवालाई रकम वितरण गर्न थालेको छ । मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत पालिकाले रकम वितरण गरेको हो । त्यसको लागि पालिकाले नेपाल बैंक लिमिटेड सँग सम्झौता गरेको छ । ऋण पाएपछि स्थानीय समेत दंग छन् । पालिकाले दिएको रकमबाट सफल उद्यमी बन्ने विश्वास युवामा पलाएको छ । 

 

चाँगुनारायण नगरपालिकाको सातौँ नगरसभाबाट यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । सोही निर्णय बमोजिम ऋण व्यवस्था गरिएको छ । कार्यक्रमको लागि करिब ११ सय जना स्थानीयले आवेदन दिएका थिए ।  ति मध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३ सय ९० जनालाई उद्यमशीलता तालिमका लागि छनोट गरेको छ ।

 

उनीहरूलाई नेपाल इन्जिनियरिङ कलेजमा तालिम समेत दिएको थियो । तालिममा सहभागीमध्ये २ सय ९२ जनालाई छनोट गरी नगरपालिकाले ऋण प्रक्रियाका लागि नामावली नेपाल बैंकमा पठाएको थियो ।  तर, ३० जना सम्पर्कमा नआएको बैँकले जनाएको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका, कोरोना महामारीबाट रोजगार गुमाएका, कृषि, पिछडिएका वर्ग तथा महिला उद्यमीलाई कार्यक्रमले प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ । 

 

बैंकले उद्यमीलाई ७ दशमलव ९८ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनेछ । ब्याजमध्ये ऋणको विषयवस्तु अनुसार ५ प्रतिशत नेपाल सरकार र बैंकको अनुदानबाट बेहोरिने छ । बाँकी  २ दशमलव ९८ प्रतिशत नगरपालिकाले बेहोर्ने गरी कार्यविधि तयार गरिएको छ । सोही बमोजिम उद्यमीले र्निव्याजी तीनलाख रुपैयाँ ऋण पाउनेछन् । यो रकम पाँचवर्ष भित्र चुक्ता गर्नुपर्ने छ । समयावधिभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरे नगरपालिकाको कालो सूचीमा नाम समावेश गरिनेछ । 

 

स्थानीय सरकारले पछिल्लो समय युवालाई उद्यमी बनाउन तालिम दिने, सहुलियतमा ऋण दिएर उद्यम सुरु गर्न प्रोत्साहन गरिरहेको छ । अधिकांश युवा यो कार्यक्रमबाट लाभान्वित पनि भएका छन् । तर, के युवा साँच्चै कार्यक्रम प्रति आकर्षित भएका छन् ? के यो कार्यक्रमबाट बेरोजगार युवाले रोजगारी पाएका छन् ? यि यावत प्रश्नको उत्तर खोज्न भने जरुरी छ । किनभने पालिकास्तरबाट आउने कार्यक्रमबाट जनप्रतिनिधिका नजिकका व्यक्ति मात्रै लाभान्वित हुने गरेको गुनासो बढीरहेकाले पनि पालिकास्तरबाट यसको अनुगमन हुन जरुरी छ ।