close

धरानले सम्झियो बिपी 

धरानले सम्झियो बिपी 

Trulli
ADVERTISEMENT

सुनसरी(धरान)- सुनसरीको धरान उपमहानगरमा ३९औँ बिपी स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  धरान उपमहानगर वडा नम्बर १३ स्थित बिपी पार्कमा आयोजित कार्यक्रममा बिपीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाइएको हो ।


कार्यक्रममा प्रदेश १ प्रदेशसभाका सांसद चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेस सुनसरी क्षेत्र म्बर १ सभापति सुरेशमान श्रेष्ठ, धरानका मेयरसमेत रहेका कांग्रेस नगर सभापति तिलक राईसहितका नेताले बिपीको शालिकमा माल्यार्पण गरेका थिए । बुधबार दिउँसो वडा नम्बर २ स्थित नवनिर्मित पार्टी कार्यालय भवनमा विचार गोष्ठी आयोजना गरियो । प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइराला सहभागी कार्यक्रमको प्रमुख आतिथ्यतामा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको हो । 

 

प्रमुख अतिथि नेता कोईरालाले कार्यक्रमलाई सम्बोधन गर्दै जननायक वीपी कोईरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै स्मरण गर्नुभयो । धरानमा कांग्रेस आफ्नै खुट्टामा उभिन सफल भएको उहाँको भनाई थियो ।

 

उपनिर्वाचनमा नगर प्रमुख पदमा जित हासिल गर्नुका साथै उहाँले आफ्नै पार्टी कार्यालयको भवन निर्माण गर्न सफल भएकोमा बधाई समेत दिनुभयो । पार्टीको वडादेखि केन्द्रसम्मको महाधिवेशन आउँदैछ । केन्द्रले निर्देशन दियो भने तोकिएकै मितिमा वडाको अधिवेशन गराउने उहाँले बताउनुभयो । १४ औं महाधिवेशनमा यो गुटभन्दा पनि मिलेर अगाडि बढ्न उनले सुझाए ।


सुनसरी क्षेत्र नम्बर १ का सभापति सुरेशमान श्रेष्ठले वामपन्थीको गढ रहेको धरानमा कांग्रेसले उपनिर्वाचनमा जित हासिल गरेको, वडा नम्बर १३ स्थित जननायक बिपीको नाममा बिपी पार्क स्थल बनाउनु र अग्रज नेताद्वय बलबहादुर राई÷भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको बताए । 

 

केन्द्रले आ–आफ्नो क्षेत्रमा ३९औँ बिपी स्मृति दिवस मनाउन निर्देशन दिएसँगै नवनिर्मित पार्टी कार्यालय भवनमा जननायक बिपीको सम्झनामा स्मृति दिवस मनाइएको धरानका मेयर राईले जानकारी दिए । कांग्रेस नेतृ एवं वडा नम्बर १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नम्बर २ स्थित निकेतन गल्लीमा निःशुल्क पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकी थिइन् ।


बलबहादुर राई÷भीप्मबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा ३ तले पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको मेयर राईको भनाइ छ । ‘पार्टी कार्यालय भवनको औपचारिक उद्घाटन गर्न बाँकी छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आग्रह गरेका छौँ । उहाँको समय मिलेपछि नवनिर्मित पार्टी कार्यालय उद्घाटन हुन्छ’, उनले भने ।

 

कांग्रेस सुनसरीका पूर्वजिल्ला सचिव गिरीराज आचार्यले मेयर राईको अगुवाइमा पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको भन्दै प्रशंसा गरे ।