close

नरेठाँटीका सबै घरमा खानेपानीको पहुँच

नरेठाँटीका सबै घरमा खानेपानीको पहुँच

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ का ६३७ घरमा एक घर एक धारा अभियान सञ्चालन भएको छ । जसपुर घामपानी मसरा खानेपानी आयोजना नामकरण गरिएको योजनाबाट वडा नम्बर २ का सबै घरमा खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । 

 

आगामी वर्षभित्र सबै घरमा धारा बनाइसक्ने लक्ष्यसहित काम सञ्चालन भएको हो । केही समय बाँकी छँदै दुई तिहाइ घरमा खानेपानी पुगिसकेको छ । त्यसका लागि सबै टोल तथा बस्तीमा योजना निर्माणाधीन छन् । केही बस्तीमा खानेपानीका धारासमेत बनेर पानी सञ्चालन भसकेको छ । 

 

सबै टोल तथा बस्तीका स–साना योजना जोडेर बृहत् योजनासहित घर–घरमा खानेपानी पु¥याउने लक्ष्य राखिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘नगरपालिका, नगर विकास कोष, संघीय बजेट र कादुरी च्यारिटेबल फाउन्डेसनलगायत संस्थाको सहकार्यमा सबै योजना पूरा गर्ने तयारीमा छौँ’, उनले भने, ‘दर्जन बढी मुहानलाई वडाभरको योजनामा समावेश गरिएको छ ।’ 

 

६३७ घर धुरीमध्ये ३ सय घरले पानी खान थालिसकेको भण्डारीले बताए ।  २०७४ मा वडाभरको डिपिआर बनेपछि सबै संस्थाको समन्वयमा योजना निर्माण सुरु भएको थियो । संघीय खानेपानी तथा ढल निकास परियोजना म्याग्दीले आयोजनाको मुख्य पाटो हेरेको छ । आयोजना सम्पन्न गर्न कुल ३२ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । 


‘पहिला खानेपानीको सास्ती थियो । योजना बनेपछि घरघरमा धारा जडान भएका छन् । सजिलो भएको छ’, थुक्का गाउँकी मानकुमारी भण्डारीले भनिन्, ‘दैनिक एक घन्टा धारोमा बस्ने समय अहिले काममा लगाउन पाइएको छ ।’ बाघमाराबाट ल्याइएको पानीले थुम्कागाउँका २५ घरमा पानीको व्यवस्थापन भइसकेको छ । यहाँ २ लाख लिटरको खानेपानी ट्यांकी निर्माणपछि घर–घरमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए ।
 


वडाले सबै घरमा धारा पुगेपछि मात्रै मिटर जडान गर्ने योजना बनाएको छ । ‘सबै घरमा पानी पुगेपछि मिटरसहितको व्यवस्थापन गर्छौं’, भण्डारीले भने, ‘मर्मत कोष बनाउने र उपभोक्तालाई आफ्नो लगानीसमेत छ भन्ने बनाउन यो योजना बनाइएको हो ।’ उनका अनुसार तोरीखोला गाउँमा पनि खानेपानी पुगिसकेको छ । 

 

घामपानीमा केही र नरेठाँटी बजार आसपासका केही घरमा भने पानीको व्यवस्थापन भइरहेको छ । कतिपयले पुरानो धाराबाट खाइरहेकाले अभाव छैन । ‘तल्ला गाउँमा पानीको अभाव थिएन । व्यवस्थित नभएकाले योजनामा एकै पटक जोडिएको हो’, वडा सदस्य दुर्गा बस्नेतले भनिन्, ‘अब खानेपानीमा सबै समान अवसर पाउँछन् भन्ने सन्देश दिन सकिएको छ ।’