close

ठेकेदारको लापरवाहीले विद्युत विस्तारमा ढिलाइ (भिडियो खबर)

ठेकेदारको लापरवाहीले विद्युत विस्तारमा ढिलाइ (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- विकट जिल्लामा हुने पूर्वाधार निर्माण समयमा सम्पन्न भएको कुनै रेकर्ड छैन । हरेक पटक केही न केही समस्याले पूर्वाधार अघि बढ्न सकेको पाइँदैन । अधिकांश समय त ठेकेदारकाे लापरवाहीले नै काम अघि बढ्न सकेको पाइँदैन । निर्माणका लागि आवश्यक सामान त पुग्छन् तर, समयमा निर्माण सुरु नहुँदा सामग्री बिग्रिने अवस्था आइसकेको हुन्छ ।

 

स्थानीय सरकार नै बेखबर जस्तो बनिदिँदा नागरिकले पूर्वाधार बनेपछि पाउने सुविधाबाट वञ्चित हुनुपर्दछ । प्रसंग बैतडीको हो । जहाँ विद्युत विस्तार गर्ने नाममा सामग्री पुगेको लामो समय भइसकेपछि पोल ठडेर विद्युत विस्तार हुन सकेको छैन । ठडिनुपर्ने विद्युतका पोल भुइँमा छन् ।

 

विद्युत जोड्न आवश्यक सामग्री पनि खाली जग्गामा असरल्ल फालिएको छ । सबै सामग्री बिग्रिएका होइनन्, नयाँ सामग्री हुन्  । तर, विद्युत विस्तार गर्ने ठेकेदारले समयमा नै काम नगर्दा पोल खोलामा, बगरमा देख्न सकिन्छ । अझ, केही तार र पोल त स्थानीयले खेतबारीमा बार लगाउन लगेका छन् । खोलामा तार बगिरहेको छ । गाडेका पोल पनि ढल्ने क्रममा छन् । तर, अहिलेसम्म पनि विद्युत विस्तार हुन सकेको छैन । 

 

डिलाशैनी गाउँपालिकाका वडा न. १, ४, र ७ का सबै ठाउँमा विद्युत विस्तार हुन बाँकी छ भने अन्य वडामा पनि पूर्ण रूपमा विद्युत विस्तार भएको छैन । गाउँपालिका भित्र विस्तार हुन बाँकी रहेका सबै ठाउँमा विद्युत विस्तार गर्ने भनेर डेढ वर्ष अघि अमृत कन्सट्रक्सन बझाङसँंग विद्युत प्राधिकरण कार्यालय अत्तरीयासँग ठेक्का सम्झौता भएको थियो ।

 

ठेकेदारले पोल र तार ल्याएर थुपान्रे बाहेक केही काम गरेको पाइँदैन । बिचैमा काम गर्न छाडेपछि विद्युत सामग्री अलपत्र परेका छन् । स्थानीय भने काम अलपत्र परेको भन्दै गाउँपालिकासँग गुनासो गर्दछन् । विद्युतमा संघीय सरकारको ठेक्का हुने भएकाले गाउँपालिका भने विद्युत विस्तारसम्बन्धी ठेक्काका विषयमा अनविज्ञ छ ।

 

जनप्रतिनिधिले भने सबै ठाउँमा विद्युत सुविधा पुर्‍याउने प्रतिवद्धता गर्ने गर्दछन् । तर, ति सुविधा काम गर्ने मान्छेको लापरवाहीका कारण अलपत्र पर्ने गरेको छ । डिलाशैनीमा विद्युत विस्तारको कामका विषयमा विद्युत प्राधिकरण शाखा बैतडी पनि अनविज्ञ नै छ । जिल्ला शाखामा विद्युत जडान सम्पन्न भएपछि मात्रै मिटर बक्स जडान र महसुल बुझाउनका लागि हस्तान्तरण गरिनेछ । लाभान्वित हुने क्षेत्रका नागरिक भने गाउँपालिकाले चासो नलिएको बताउँछन् । तर, पालिका भने आफूले पहल गरिरहेको दावी गर्छ ।

 

डिलाशैनीमा विद्युत विस्तार गर्नका लागि डेढ वर्ष अघि विद्युत प्राधिकरण अत्तरीयासँंग ठेकेदार कम्पनीको ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम काम भने हुन सकेको छैन । तर, विद्युत प्राधिकरण अत्तरीयाले भने आगामी दशैँ सम्म काम सम्पन्न हुनसक्ने जनाएको छ । 

 

ठेक्का सम्झौता भएको अमृत कन्सट्रक्सनका सञ्चालक भानुभक्त जोशी भने विद्युत प्राधिकरणबाट सामान नै नपाएकाले काम सम्पन्न गर्न नसकेको बताउने गर्दछन् । विद्युतको ठेक्का सामान प्राधिकरणले दिने र काम ठेकेदारले गर्ने भन्ने कुरा सत्य हो । तर, ठेकेदारले अहिलेसम्म पाएका सामानको राम्रो सदुपयोग गरिदिएको भए केही ठाउँमा त विद्युत बल्थ्यो नि भन्दै स्थानीय प्रश्न गरिरहेका छन् ।