close

ढुंगा शृंगारेर बनाइएकाे चिटिक्ककाे एउटा पार्क

ढुंगा शृंगारेर बनाइएकाे चिटिक्ककाे एउटा पार्क

Trulli
ADVERTISEMENT

तनहुँ- मगर भाषामा घाङ्च ल्हुम भनेको अग्लोे ढुंगा हो । भीमाद नगरपालिका वडा नम्बर ९ मोहोरियाको जंगलमा अग्ला ढुंगा परापूर्वकालदेखि नै यथेष्ट थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुंगा ढुंगामै सीमित थिए । तर, अहिले तिनै ढुंगालाई शृंगारेर चिटिक्कको पार्क बनाइएको छ । 


जंगलमा बेवारिसे ढुंगा शृंगारिएला र चिटिक्कको पार्क बन्ला कल्पनासमेत नभएको स्थानीय बाबुराम राना बताउँछन् ।  वडा सदस्यसमेत रहेका राना भन्छन्, ‘जंगलको बीचमा थियो । परार साल जंगल फाडेर देखिने बनायौँ । अहिले पार्क बनेको छ । यस्तो राम्रो पार्क बन्ला भनेर कसैले चिताएका थिएनौँ ।’


यहाँ पार्क बन्नुको श्रेय गाउँलेले गण्डकी प्रदेशका पूर्वअर्थ मन्त्री किरण गुरुङलाई दिन्छन् । मन्त्रीकै वडामा पर्छ, मोहोरियाको घाङ्च ल्हुम । उनले कार्यक्रममा सहभागी हुन आउँदा यो ढुंगा देखे । ढुंगालाई शृंगार्दा पर्यटकीय गन्तव्य बन्ने लक्षण देखेपछि उनले पहलकदमी थाले । 


गण्डकी प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षको बजेटबाट पार्क बनाएको हो । २० लाख रुपैयाँ लगानीमा पार्क निर्माण गरिएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । स्थानीयले १० प्रतिशत लागत साझेदारी बहोर्दै श्रमदान गरेका छन् ।


उनका अनुसार पार्कमा चराको गुँड बनाइएको छ । ढुंगाको खोपिल्टोमा चराचुरुंगीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको । घाङ्च ल्हुम आसपास ढुंगाले चिनेर चिटिक्क पारिएको छ । पैदल मार्ग बनाइएको छ । चराचुरुंगी आकर्षित गर्न चेरीका बिरुवा रोपिएको छ । 


अग्ला चुच्चे ढुंगालाई शृंगारेर बनाइएको पार्कले पर्यटकलाई लोभ्याउने छनक देखाएको छ । ‘प्राकृतिक हिसाबले ढुंगा आफैंमा आर्कषक थियो । यसैलाई व्यवस्थित गर्दै चरालाई आकर्षित गर्ने गरी पार्क बनाएका छौँ’, काफ्लेले भने ।
 
पार्कलाई सही उपयोग गर्ने सके स्थानीयको आयआर्जनको स्रोत बन्न सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘त्यहाँको बस्ती पिछडिएको छ । पहिले स्थानिय उत्पादन बढाउन आवश्यक छ । पार्कलाई पर्यटनको गन्तव्य बनाउने र आउने पर्यटकलाई स्थानीय उत्पादन बेच्ने वातावरण बने रोजगारीसँगै आर्थिक रूपमा आत्मनिर्भर बन्न सघाउँछ ।’ पार्कको अवधारणालाई मूर्त रुप दिन स्थानीय सरकारले लगानी गर्नुपर्ने उनले बताए ।


यही वडामा रहेको चमेरो गुफामा चमेरा संरक्षणका लागि डिभिजन वन कार्यालयले चमेरा अवलोकन बिन्दु बनाएको छ । चमेरा हेर्नलाई गुफाभित्र पस्ने प्रवृतिले प्रभाव पारेको थियो । ‘चमेरा लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर, अवलोकन गर्न मिल्ने गरी संरचना बनाइएको छ’, वन कार्यालयका प्रमुख काफ्लेले भने । 


चमेरो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्न रेलिङसहितको सिँढी बनाइएको छ । गत वर्ष विनियोजित २० लाख रुपैयाँ बजेटले ४ सय मिटर रेलिङसहितको सिँढी र चमेरो अवलोकन बिन्दु निर्माण भएको हो । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्ग बनाउन थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताए ।


भविष्यमा सिद्धगुफा, चमेरे गुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूल बगानसहितको पदमार्ग बनाउने योजना रहेको उनले जानकारी दिए । ‘एक दिने पदयात्राका लागी यी गन्तव्य उपयुक्त छन्’, उनले भने, ‘पूर्वाधार थप र प्रवद्र्धनमा अब हाम्रो ध्यान हुनेछ ।’ 


पाथर्दी गाउँ वोयर बाख्राको पकेट क्षेत्र हो । वडाबासीको जीवनस्तर पर्यटन, कृषि र पशुपालनबाट उकास्ने ध्येयमा रहको वडाध्यक्ष थापाले बताए ।