close

स्वास्थ्य मन्त्रालय र डब्लुएचओ टोली रूपन्देहीमा, तेस्रो महामारीको पूर्वतयारीमा केन्द्रित हुन सुझाव

स्वास्थ्य मन्त्रालय र डब्लुएचओ टोली रूपन्देहीमा, तेस्रो महामारीको पूर्वतयारीमा केन्द्रित हुन सुझाव

Trulli
ADVERTISEMENT

रूपन्देही- कोरोना महामारीमा स्थानीय तहले गरेका काम र जनस्वास्थ्यसम्बन्धी विषयमा जानकारी लिन संघीय स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेष टोली रूपन्देही आएको छ । यस क्षेत्रका पालिकाहरूले गरेको महामारीविरुद्धका कामको जानकारी लिने र अबका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विशेष छलफल गर्न उक्त टोली यहाँ आएको हो ।

 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, महानिर्देशक र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुखसहितको विशेष टोलीले रूपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा भइरहेका कामबारे जानकारी लिएको छ । उक्त टोलीलाई बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले भइरहेका कामबारे जानकारी गराउनुका साथै संघीय सरकार मातहतबाट हुने सहकार्य र सहयोग सम्बन्धमा पनि सुझाव दिए ।


उनले खोपको प्रबन्ध भए पनि त्यसलाई पालिका स्तरमा पर्याप्त नपठाइँदा कार्यक्रमलाई प्रभावकारी बनाउन सकस भइरहेकामा ध्यानाकर्षण गराए । बुटवलमा महामारीविरुद्ध भएका काम र स्वास्थ्य सरसफाइसम्बन्धी कामको विवरण उक्त टोलीसमक्ष प्रस्तुत गरिएको थियो । 


उक्त टोलीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश सम्भाजिराव पाण्डव सहभागी थिए । यस्तै, टोलीमा डा. दीपेन्द्र गौतम, मातृका शर्मा दाहाल तथा छिरिङ डोलर गुरुङ र सुदन ज्ञवालीलगायत सहभागी थिए ।  उक्त टोलीले बुटवलमा व्यवस्थित र प्रभावकारी काम भएको भन्दै प्रशंसा गरेको थियो ।


विशेष टोलीसँगको छलफलमा बुटवलका प्रमुख सुवेदीसहित उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, महाशाखा प्रमुख मित्रमणि खनाल, स्वास्थ्य समितिका संयोजक सीतादेवी थापा र जनस्वास्थ्य अधिकृत उमादेवीथापालगायत सहभागी थिए ।


बुटवलले तेस्रो लहरको जोखिमलाई दृष्टिगत गर्दै पूर्वतयारीका कामलाई प्राथमिकता दिएको, बालरोग विशेषज्ञसँग साक्षात्कार गरेको, स्वास्थ्य संस्थामा बेड, अक्सिजन, औषधी, जनशक्तिलगायतलाई तयारी अवस्थामा राखेको जानकारी गराइएको थियो ।  बुटवलले हालै यहाँका बालरोग विशेषज्ञसँग विशेष छलफल गर्नुका साथै उनीहरूकै सुझावमा सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवा विस्तारका काम अगाडि बढाएको छ । 

 

तिलोत्तमामा पनि विशेष छलफल

तिलोत्तमा नगरपालिकामा भैरहेका स्वास्थ्यसम्बन्धी विषयमा संघीय सरकार, स्वास्थ्य मन्त्रालय डब्लुएचओका प्रतिनिधिले जानकारी लिएका छन् । उक्त टोलीलाई नगरप्रमुख वासुदेव घिमिरेले नगरपालिकाले गरिरहेका स्वास्थ्यसम्बन्धी काम तथा खोप अभियानबारे जानकारी गराए । 


पर्याप्त खोप नआउँदा संघीय सरकारले तोकेको समूहले पनि खोप लगाउन नपाएको बताउँदै खोपको व्यवस्था मिलाउन प्रमुख घिमिरेले आग्रह गरे । उक्त टोलीसँगको छलफलमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, जनस्वास्थ्य निरीक्षक केशव भट्टराईलगायत सहभागी थिए ।


तिलोत्तमा भएका पूर्वतयारीलगायत कामबारे जानकारी लिएपछि प्रशंसा गर्दै उक्त टोलीले अझै विस्तार र निरन्तरताका लागि सहकार्य गर्ने बताएको छ । 

 

तेस्रो लहरको जोखिम छ, सचेतना बढाउनुस्

संघीय सरकारको स्वास्थ्य मन्त्रालय र डब्लुएचओको विशेषज्ञसहितको टोलीले महामारीका नयाँ–नयाँ लहर र भाइरसको जोखिम कायमै रहेकाले सचेतना र सावधानी अपनाउन आग्रह गरेको छ । 


महामारीको चपेटामा बुटवलमा संक्रमितको घरघरमा पुगेर हौसला बढाइएको, आयुर्वेद ओखती वितरण र योगा सिकाएको सन्देशमूलक समाचारले प्रभावित भएको बताउँदै डब्लुएचओका नेपाल प्रमुख डा.राजेशले बुटवलका कामको प्रशंसा गरे ।

 

पालिकाहरूले कोरोना महामारीविरुद्ध सञ्चालन गरेका अभियान प्रशंसनीय र प्रभावकारी रहेको बताउँदै उक्त टोलीले समुदायस्तरमा व्यापक परीक्षण र सचेतनालाई तीव्रता दिन आग्रह गरेको थियो ।


‘कोरोना परीक्षणको दायरालाई अझ बढाउनुस् र सचेतनाका कामलाई अझ विस्तार गर्नुस्,’ विशेषज्ञको जोड थियो । कोरोना महामारी केही वर्ष कायमै रहन सक्ने बताउँदै टोलीका प्रतिनिधिले सरकारले क्रमशः खोपको व्यवस्था गर्ने जानकारी गराए ।


टोलीले शनिबार लुम्बिनीमा विशेष कार्यक्रम गर्ने तयारी छ । नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ । अहिलेसम्म ७ लाख २४ हजार ४५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै, ६ लाख ३६ हजार ४ सय २ व्यक्ति स्वास्थ्यलाभ गरी घर फर्किएका र ९ हजार ६ सय ३७को संक्रमणबाट निधन भइसकेको छ ।