close

कोभिडविरुद्ध लड्न उदयपुरका अस्पताललाई स्वास्थ्य सामग्री

कोभिडविरुद्ध लड्न उदयपुरका अस्पताललाई स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

उदयपुर–    कोरोना संक्रमण नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले उदयपुरका विभिन्न अस्पताललाई ५४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । उदयपुरका ३ अस्पताल, २ स्थानीय तह र जिल्ल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलाई दातृ निकाय सेभ द चिल्ड्रेनले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 

 

दोस्रो लहरको कोभिड प्रतिकार्यका लागि सेभ द चिल्ड्रेनको साझेदार संस्था बालविकास समाज (सिडिएस) उदयपुरको समन्वयमा जिल्ला अस्पताल गाईघाट, उदयपुर कोभिड अस्पताल बेल्टार, नगर अस्पताल कटारीलाई आधारभूत स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो । 

 

सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दीपक बुढाथोकी र सिडिएसकी उपाध्यक्ष सीता तामाङको टोलीले अस्पताल पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

 

उदयपुरको चौदण्डीगढी नगपालिका वडा नम्बर ६ सातधारेस्थित बेलटारमा सञ्चालित उदयपुर कोभिड अस्पताललाई १८ लाख ६४ हजार रुपैयाँको अत्यावश्यक स्वास्थ्य सामग्री अस्पताल सञ्चालक समिति अध्यक्ष तथा चौदण्डीगढीका मेयर खगेन्द्र राईलाई हस्तान्तरण गरेको छ ।

 

कोभिड संक्रमण दर कायम रहेको र पहिलोभन्दा दोस्रो लहरले नेपालमा धेरै धनजनको क्षति गरिरहेकाले दीर्घकालीन उपचार व्यवस्थापन गर्न स्वास्थ्य सामग्री उपलब्ध गराइएको संयोजक बुढाथोकीले बताए ।

 

मेयर राईले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेर उदयपुरबासीको स्वास्थ्य सुरक्षाप्रति देखाएको सद्भावप्रति धन्यवाद दिए । सेभ द चिल्ड्रेन र बालविकास संमाजको सहयोगले धेरै कोभिड संक्रमितको अकालबाट ज्यान बचेको मेयर राईले बताए ।

 

स्थानीय तहको प्रयासले खोलिएको अस्पताल सञ्चालन गर्न यस्तो सहयोगले मनोबल बढेको धारणा उनको छ । कोभिड अस्पताल गत वर्षको महामारीका बेला जिल्लाका ८ वटै स्थानीय तह मिलेर निर्माण र सञ्चालन गरेका हुन् ।

 

सुरुदेखि अहिलेसम्म कोभिड अस्पताललाई संघीय सरकारले सहयोग नगरेको र प्रदेशले पनि नगन्य सहयोग गरेको मेयर  राईको गुनासो छ । माथिबाट सहयोग नभएका कारण स्थानीय सरकारले आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गरेर जिल्लाबासी संक्रमितको ज्यान बचाउँदै आएको उनको भनाइ छ ।

 

त्यसैगरी सिडिएसको टोलीले जिल्ला अस्पताल गाईघाटलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुढाथोकी र तामाङले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारलाई १४ लाख २१ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

 

जिल्ला अस्पताललाई अटोमेटिक आईसियु बेड, १० लिटर प्रतिमिनेट क्षमताको अक्सिजन कन्सन्ट्रेटर, म्याट्रेस र पिक–लो प्रविधिको बेड, मनिटर, ट्रली, फल्स अक्सिमिटर, पिपिई सेट, एन्टिजेन किट, २० लिटरको ट्रयास विन, डिस्पोजेवल ब्याग, फेस सिल्ड, रुबोट बुक, डेडबोडी ब्याग, १६ लिटर क्षमताको स्प्रे पम्प,स्यानिटाइजर र मास्कलगायतका १६ थरी स्वास्थ्य सामग्री छन् ।

 

आइसियु नभएको कोभिड अस्पताललाई भने आइसियु बेडबाहेक अन्य सबै सामग्री दिइएको छ ।  त्यसैगरी कटारी नगर अस्पताललाई ७ लाख रुपैयाँ बढीको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

 

जिल्ला प्रहरी र सशस्त्रलाई स्यानिटाइजर र मास्कलगायत सामग्री प्रदान गरिएको छ । अस्पताल, नगरपालिका तथा प्रहरी र सशस्त्रलाई ४० लाख ६४ हजार ७ सय ८२ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको बुढाथोकीले जानकारी दिए ।

 

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) मार्फत वितरण गर्ने गरी ११ लाख ६४ हजार र उदयपुरगढी गाउँपालिकालाई १ लाख ७० हजार रुपैयाँको स्वास्थ्य सामग्री सिडिएसले उपलब्ध गराएको छ ।

 

सेभ द चिल्ड्रेनले कोभिड नियन्त्रणमा ५३ लाख ९८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको संयोजक बुढाथोकीको भनाइ छ । उदयपुरमा कोभिड नियन्त्रणमा सेभ द चिल्ड्रेनले महत्त्वपूर्ण भूमिका खेलेको उदयपुर विकास बोर्ड अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।