close

सीमकोटका स्वास्थ्यकर्मी हटाएपछि स्थानीयको विरोध

सीमकोटका स्वास्थ्यकर्मी हटाएपछि स्थानीयको विरोध

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सीमकोट गाउँपालिकाअन्तर्गतका ३ वटा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई कामबाट हटाएको विरोधमा स्थानीयले पालिकाको ध्यानाकर्षण गराएका छन् ।


संघ सरकारले गाउँपालिकामा सञ्चालित ३ वटा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाइएपछि स्वास्थ्यकर्मी र स्थानीयले सीमकोट गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
 
सीमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम, ४ को बुराउसे र ६ को पाँवाडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका ९ जना स्वास्थ्यकर्मीलाई बजेट अपुग भएपछि कोरोना कहरकै बीचमा गाउँपालिकाले काम नगर्न पत्राचार गरेको थियो ।


त्यसको विरोधमा ३ वटै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले स्थानीयलाई लिएर गाउँपालिकाको केन्द्र सीमकोट पुगेका हुन् ।


प्रतिस्वास्थ्य संस्थामा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगी गरेर तीन जना रहेको स्वास्थ्य संस्थाबाट संघ सरकारले हटाएपछि कार्यरत स्वास्थ्यकर्मीले निर्वाध काम गर्न पाउनुपर्ने मागसहित पालिकाको ध्यानाकर्षण गराइएको वडा नम्बर ४ पावाडाको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज राजु रावतले जानकारी दिए ।


काम गर्दै आए पनि आफूहरूलाई बिनासूचना हटाएको भन्दै तीन वटै केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी स्थानीयसहित गाउँपालिका पुगेको रावतले बताए ।


‘हामीहरूले पाउँदै आएको सेवा– सुविधा गाउँपालिकाबाट कटौती हुनुहुँदैन । दैनिक दिन हाजिर लगाउन पाउनुपर्छ र पुनः स्वास्थ्य संस्थामा कार्यरत हुनुपर्ने माग राखेका छौँ’, रावतले भने, ‘जिल्लामा कोभिड–१९ ले भयावह रूप लिएको बेला स्वास्थ्य संस्थामा स्वाथ्यकर्मीलाई थप प्रोत्साहन गर्नुपर्नेमा काम गरिरहेकालाई निकाल्नु गलत हो ।’
 
केन्द्र सरकारको परिपत्रअनुसार गाउँपालिकाले हाजिर नहुन पत्राचार गरेको सीमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।


‘संघीय सरकारको निर्णयअनुसार स्वास्थ्यकर्मीलाई हटाइएकाले पालिकाले केही गर्न सक्दैन’, प्रशासकीय अधिकृत रोकायाले थपे, ‘सो विषयमा संघ सरकारले आर्थिक रकम थपेर पठाए मात्रै उक्त स्वास्थ्य केन्द्रबाट निकालिएका स्वास्थ्यकर्मीलाई कार्य सञ्चालनका लागि ड्युटीमा खटाउन सकिन्छ ।’