close

प्रदेश १ सरकारले सार्वजनिक गर्‍यो स्थानीय तहले गर्नुपर्ने विपद् प्रतिकार्य सूची

प्रदेश १ सरकारले सार्वजनिक गर्‍यो स्थानीय तहले गर्नुपर्ने विपद् प्रतिकार्य सूची

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारले मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि प्रदेशभरका स्थानीय तहले गर्नुपर्ने कार्यको सूची सार्वजनिक गरेको हो ।  प्रदेश १ को आन्तरिक मामला तथा कानुन मन्त्रालयले मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि स्थानीय तहले गर्ने १७ वटा योजना सार्वजनिक गरेको हो । 


स्थानीय तहले आफ्नो तहका लागि मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना तयार र अद्यावधिक गर्ने, मनसुनजन्य जोखिमका सम्बन्धमा समुदाय तहमा जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहमा खोलानाला, ढल निकास आदिको सरसफाइ र मर्मतसम्भार गर्ने, स्थानीय समुदायलाई विपद्प्रति जागरुक बनाउने योजना समेटिएको छ ।


यस्तै, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद् घटना हुनासाथ प्रतिकार्यका लागि परिचालित हुन वडा वा समुदाय स्तरमा विपद् व्यवस्थापन समिति गठन गर्ने र समितिको क्रियाशीलताका लागि जिम्मेवारी बाँडफाँट एवं नियमित बैठक बस्ने प्रबन्ध मिलाउने र विपद् प्रतिकार्यका लागि आपतकालीन नमुना अभ्यास गर्ने-गराउने कार्य गर्नुपर्नेछ ।


स्थानीय बिपद् व्यवस्थापन कोष सञ्चालन र कोष वृद्धिका लागि योजना बनाउने, विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा सामाजिक संस्था तथा व्यावसायिक प्रतिष्ठानले तोकेबमोजिमको कार्य गरे÷नगरेको अनुगमन गर्नुपर्नेछ ।


यसैगरी स्थानीय स्तरमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी कार्य सञ्चालन गर्ने र नियमित रूपमा प्रतिवेदन तयारी र अद्यावधिक कार्य गर्ने, विपद् समय प्रयोग गर्नुपर्ने सरसामान तथा एम्बुलेन्सलगायत उपकरण तयारी हालतमा राख्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित कार्यको निरन्तर समीक्षा गर्ने एवं अनुकरणीय कार्य मूल्यांकन र पृष्ठपोषणका आधारमा प्रतिकार्यलाई थप व्यवस्थित गनुपर्नेछ ।


यस्तै, विपद्का कारण भएको क्षतिको तथ्यांक अद्यावधिक गरी राख्ने, आवश्यकताका आधारमा राहत वितरण गर्ने र राहत वितरणलाई सुरुदेखि नै एकद्वार प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहको जिम्मेवारीमा परेको छ ।


अस्थायी आवास व्यवस्थापन गरी विपद् प्रभावितलाई सुरक्षित राख्ने, विपद् प्रभावित र विस्थापितलाई परिचयपत्र दिलाउने, स्थानीय स्रोत–साधनको अधिकतम परिचालन गरी प्रतिकार्य गर्ने, स्थानीय युवा स्वयंसेवकलाई सुरक्षा निकाय तथा रेडक्रससँगको समन्वयमा पूर्वतयारी तथा प्रतिकार्यमा परिचालन गर्नुपर्ने सूची सार्वजनिक गरिएको छ ।

 

स्थानीय प्रशासन र सुरक्षा निकायसँग मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्यको अवधिभर प्रभावकारी समन्वय गर्ने र आवधिक एवं समग्र प्रतिवेदन तयार गरी जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिमा पठाउने जिम्मेवारी स्थानीय तहको हुनेछ ।