close

तीन वर्षदेखि अलपत्र पंखु खोला पुल, ४० प्रतिशत काम छाडेर बेपत्ता भए ठेकेदार

तीन वर्षदेखि अलपत्र पंखु खोला पुल, ४० प्रतिशत काम छाडेर बेपत्ता भए ठेकेदार

Trulli
ADVERTISEMENT

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलामाथिको मोटरेबल पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइको पुल ३ वर्र्षदेखि अलपत्र परेको हो ।

 

२०७५ असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हालसम्म दुई किनारामा पिलर मात्र ठड्याउनेबाहेक अरू काम हुन नसकेको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ सडक खण्डमा पर्ने पंखु खोला पुल २ करोड २९ लाख रुपैयाँमा पूरा गर्ने गरी सिरुवा कन्स्ट्रक्सनले ७ असोज २०७२ मा ठेक्का सम्झौता गरेको थियो ।

 

तर, पुलको दुई पिलर ठड्याएपछि ठेकेदार काम छाडेर बेपत्ता बनेको स्थानीय बताउँछन् । ठेकेदारले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए ।

 

छिमेकी भोजपुरसँग जोड्ने सडक खण्डमा पर्ने सो पुलको सब–स्ट्रक्चर र फाउन्डेसनको काम भइसकेको छ । तर, सुपर–स्ट्रक्चरको काम बाँकी छ ।

 

‘पंखु खोलाको पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदारले काम गरेनन्,’ इन्जिनियर श्रेष्ठले भने, ‘पुलको अवस्था हेर्दा निर्माण जिम्मा लिएकालाई कारबाही गर्नुपर्ने देखिएको छ । तर, सरकारले म्याद थप भनिदिन्छ । कर्मचारीलाई काम गर्न गाह्रो छ ।’

 

पंखु खोला पुलको दोस्रोपल्ट थप भएको म्यादसमेत २०७७ असारमै सकिएको थियो । सम्झौता म्याद गुज्रेको ३ वर्ष बित्दासमेत पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ ।

 

निर्माण कम्पनीले आवश्यक निर्माण सामग्रीसमेत निर्माण स्थलमा जम्मा गर्न सकेको छैन । बेलामा पुल निर्माण नहुँदा आउजाउमा समस्या भइरहेको स्थानीय स्वास्थ्यकर्मी रुपक बुढाथोकीले बताए ।

 

पुल निर्माणको काम अलपत्र परेपछि २०७६ मा १५ दिने सूचना प्रकाशित गरिएको थियो । सूचना प्रकाशित गरेपछि प्रतिनिधिका रूपमा हरिनारायण देवकोटालाई निर्माण स्थलमा पठाएको ठेकेदार कम्पनीले पुलको थप भौतिक प्रगति भने देखाउन नसकेको स्थानीयले बताए । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा जनप्रतिनिधि एवं नेताको ध्यानाकर्षण हुन सकेको छैन ।

 

तीन पुल निर्माणको काम अझै अनिश्चित

 

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डका तीन वटा खोलामा अझै पुल निर्माणको सुरसार छैन । चखेवाभञ्ज्याङ–दिक्तेलको दिक्तेल–माम्खा सडक खण्डमा कालोपत्रे भइसक्दा सो खण्डका तीन खोलामा निर्माण हुने पुलको अत्तोपत्तो नभएको हो ।

 

दिक्तेल–माम्खा सडक खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा कहिलेबाट पुल निर्माण सुरु होला भन्ने प्रतीक्षाकै विषय बनेको छ । यद्यपि, छेपे खोलाको पुलको डिजाइन स्वीकृत भएर लागिसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

 

भालु खोला र मेवा खोलाको पुलको डिजाइन भइरहेको जनाइएको छ । ‘छेपे खोलाको पुलको डिजाइन स्वीकृत भएर ठेक्का भइसकेको छ । सम्झौता भएर यो हिउँदबाट काम होला,’ इन्जिनियर श्रेष्ठले भने, ‘भालु खोला र मेवा खोला पुलको डिजाइन कन्सल्टेन्टले दिइसकेको छैन । यो वर्ष ठेक्का हुन्छ होला ।’

 

यस्तै, माम्खा–दारुला सडक खण्डको सरुवा खोलामा भने रि–डिजाइन गरेर पुल निर्माण गरिएको छ । पुरानो डिजाइनअनुसारको पुल बनाउँदा भुलभुले देउधामलाई असर गर्ने देखिएपछि सरुवा खोलामा डिजाइन परिवर्तन गरेर निर्माण गरिएको हो ।

 

रि–डिजाइनका कारण पुल निर्माणको काम झन्डै वर्ष दिन पछि धकेलिएको जनाइएको छ । दारुला–पेलुङ सडक खण्डमा पर्ने लप्सेखोला र दाम्दे खोला, पेलुङ–सेखुवा सडक खण्डको साप्सु खोलाको पुल भने तयार भइसकेको छ ।

 

परिणामविहीन निरीक्षण

 

पुष्पलाल मध्यपहाडी लोकमार्ग योजनाको प्रगति, ढिलासुस्ती र गुणस्तरबारे निरीक्षण गर्न २०७६ जेठमा संघीय संसद्को विकास तथा प्रविधि समिति संयोजक कल्याणी खड्का नेतृत्वको टोली खोटाङ–भोजपुर–धनकुटा हुँदै पाँचथर पुगेर फर्कियो ।

 

सांसदको टोली लिएर संघीय संसद्को विकास तथा प्रविधि समितिका संयोजक नै निरीक्षण र अनुगमनमा हिँडेपछि मध्यपहाडी लोकमार्गको कामले गति लिने अपेक्षा थियो । तर, त्यो अनुगमन औपचारिकतामै सीमित हुन पुगेको स्थानीय बताउँछन् ।

 

दिक्तेलमा आयोजित अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र स्थानीयले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोलाको मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको भन्दै पटक–पटक समितिको ध्यानाकर्षण गराएका थिए ।

 

समितिको टोली सोही अलपत्र पंखु खोलाको पुलको पिलर हेर्दै अघि बढे पनि न पुलको काम सुरु भयो, न त ठेकेदारमाथि नै कारबाही । सडक तथा पुलको ढिलासुस्तीका विषयमा समितिको निरीक्षणको कुनै प्रभाव र प्रतिक्रिया नदेखिएको स्थानीयको गुनासो छ ।