close

हलेसीका छोरीको खातामा बार्षिक ४ हजार  

हलेसीका छोरीको खातामा बार्षिक ४ हजार  

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । 

 

छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो । 

 

‘बालिका बचत’ कार्यक्रम अन्तर्गत नगरपालिकाले १ साउन २०७७ देखि असार मसान्तसम्ममा जन्मिएका छोरीको नाममा खाता खोलेर ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिने गरी कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताइन् । 


आर्थिक वर्ष २०७७/०७८ भित्र जन्मिएका ४६ जना छोरीको नाममा खाता खोलेर ‘बालिका बचत’ कार्यक्रम अन्तर्गत मासिक ४ हजारका दरले रकम जम्मा गरिदिएको नगरपालिकाले जनाएको छ । 

 

११ वडा रहेको नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यका साथ आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरिएको हो । 

 

‘बालिका बचत’ कार्यक्रम अन्तरगतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ । 

 

कार्यक्रमका माध्यमबाट छोरा र छोरीमाथिको विभेदको अन्त्य गर्दै बचत गर्ने बानीको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख राईले बताइन् । 

 

छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्य गर्न कार्यान्वयनमा ल्याइएको ‘बालिका बचत’ कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाबीच बार्षिक ९ प्रतिशतले व्याज उपलव्ध गराउने गरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ । 


बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्न सक्ने छन् । 

 

लामो समयसम्म नगर वाहिर बसिरहेको अवस्थामा गाउँमा आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू नहुने नगरपालिकाले जनाएको छ । 


नगरपालिकाले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर २४ फागुनबाट औपचारिक रुपमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो । दिवसको अवसरमा हलेसीमा आयोजित कार्यक्रममा पूर्वजलस्रोत राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लिलाकुमारी दमाईकी छोरी सुनिला परियारलाई ‘बालिका बचत’ कार्यक्रम अन्तर्गतको चेक हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरिन् ।

 

समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद कायम छ । कतिपय दम्पत्तीले छोरीको भ्रुण पहिचान गरेर गर्भपतन गर्ने गरेका छन् । यो अवस्थामा ‘छोरा छोरी बराबरी’ हुन् भन्ने बुझाईको बिकासका लागि छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ ‘बालिका बचत’ कार्यक्रम ल्याइएको हो । २०७६ साल असार ३० गते पूर्ण बर्थिङ सेन्टरयुक्त वडा घोषणा गरिएको नगरपालिकाका हरेक गर्भवती महिलालाई अनिवार्य बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ पनि ‘बालिका बचत’ कार्यक्रम ल्याइएको  राईले बताईन् ।

 

‘हाम्रो समाजमा छोरा र छोरीमाथि विभेद भइरहेका छन् । त्यही भएर छोरी जन्माउने आमाबुवाको प्रोत्साहनका लागि बालिका बचत कार्यक्रम ल्याइएको हो । यसले बचत गर्ने बानीको बिकासमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ,’ राईले भनिन्, ‘अर्को कुरा, हाम्रो नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर बनिसकेको छ । सुत्केरीलाई अनिवार्य त्यही गएर सुरक्षित सुत्केरी गराउने वातावरण बनाउनका लागि पनि यो कार्यक्रम अघि सारिएको हो ।’ 


‘बालिका बचत’ कार्यक्रमले समाजमा छोरीलाई हेर्ने नजरमा परिवर्तन ल्याउन सहयोग पुग्ने नगरपालिकाका महिला तथा बालबालिका शाखाका संयोजक इरन राईले बताईन् । 


 बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने बढे 


‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि हलेसी तुवाचुङ नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने संख्या वृद्धि भएको छ । ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि स्वास्थ्य संस्थामा गएर नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने संख्या बृद्धि भएको हो । सो कार्यक्रमले व्यक्तिगत घट्ना दर्तामा समेत कार्यक्रमले योगदान पुर्‍याएको  राईले बताइन् । 

यसअघिको शीर्षकमा बार्षिक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । (सं)