close

विद्यार्थी आन्दोनका कारण एमयुका सबै परीक्षा स्थगित

विद्यार्थी आन्दोनका कारण एमयुका सबै परीक्षा स्थगित

Trulli
ADVERTISEMENT

सुर्खेत– संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयुका विभिन्न संकायका परीक्षा स्थगित गरिएका छन् ।  


विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेको जनाएको छ ।  


परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले मानविकी र सामाजिक शास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि र शिक्षाशास्त्र संकाय अन्तर्गतका स्नातक तह आठौं सेमेस्टरको मौका परीक्षा शुक्रबारदेखि प्रारम्भ हुनुपर्नेमा प्रतिकूल परिस्थितिका कारण सञ्चालन हुन नसकेको बताए । साथै मौका परीक्षाका आगामी कार्यक्रमसमेत स्थगित गरिएको उनको भनाइ छ ।  


एमयुले शुक्रबार दिउँसो १२ बजेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर, परीक्षा सञ्चालन गर्ने समय अगावै विद्यार्थीले विश्वविद्यालय परिसरमा आन्दोलन गरेपछि परीक्षा सञ्चालन हुन सकेन । 


संयुक्त विद्यार्थी संगठनले गत आइतबारदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ । आन्दोलनअन्तर्गत विद्यार्थीले गत बिहीबार विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए । 


विश्वविद्यालयले आफ्ना माग सम्बोधनमा चासो नदिएको भन्दै विश्वविद्यालयको केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयसहित सम्पूर्ण संकायको क्याम्पसमा तालाबन्दी गरिएको विद्यार्थी संगठनले जनाएका छन् । 


अनेरास्ववियु (क्रान्तिकारी)का ममता अधिकारीले विश्वविद्यालयले वार्तामा आएर विद्यार्थीको समस्या समाधान गर्न नसकेको बताइन् ।

 

उनले विद्यार्थीका माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलनमै रहने बताइन । विद्यार्थीले परीक्षा दिन नपाएकोप्रति विश्वविद्यालयले जिम्मेवारी लिनुपर्ने र विद्यार्थीका सम्पूर्ण माग उचित ढंगले सम्वोधन हुन नसके विश्वविद्यालयमा लगाइएको ताला खुल्न नदिने उनको भनाइ छ ।