close

अपांगता भएका नागरिकलाई स्वास्थ्य सामग्री बाँड्दै नमोबुद्ध

अपांगता भएका नागरिकलाई स्वास्थ्य सामग्री बाँड्दै नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा अपांगता भएकाहरूका लागि स्वास्थ्यसहितका अत्यावश्यक सहायक सामग्री वितरण गरिने भएको छ । 

 

वडा कार्यालयमार्फत सबै वडामा रहेका अपांगता भएका व्यक्तिका लागि वितरण गर्न लागिएको सहायक सामग्री र स्वास्थ्य सामग्री आइतबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सम्बन्धित वडाका वडाध्यक्षहरूलाई हस्तान्तरण गरे ।

 

नगरपालिका स्तरीय अपांगता परिचयपत्र सिफारिस समन्वय समिति संयोजक एवं उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ह्विल चियर १४ वटा, कमोड ट्वाइलेट १३ वटा, बैसाखी ६ वटा, दृष्टिविहीनका लागि सेतो छडी ५ वटा, लठ्ठी १५ वटा, फोस्टिक लठ्ठी एउटा वटा हस्तान्तरण गरिएको छ ।

 

यस्तै, १०० एमएलको स्यानिटाइजर ३५० थान, मास्क ३५० प्याकेट तथा मसक्विटो लिक्विड ४०५ थान हस्तान्तरण गरिएको छ । 

 

कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि विशेष कार्यक्रम तय गरिएको र यसबाट ज्येष्ठ नागरिक र अपांगता भएकाहरू थप लाभान्वित हुने बताए ।

 

उनका अनुसार नगरस्तरीय कार्यक्रमअन्तर्गत दाँतसहितको मुस्कान कार्यक्रमअन्तर्गत १०० जनाको दाँत राख्ने, तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा सुगर र आँखा युनिट तयारी कार्यक्रम, नेपाल हियरिङ एन्ड स्पिच सेन्टर, यु नेपाल आई प्रोग्राम तिलगंगाको समन्वयमा १०० जनाका लागि कानमा राख्ने मेसिन वितरण हुनेछ । 

 

यस्तै, ज्येष्ठ नागरिक सेन्टर बत्तीसपुतलीसँगको सहकार्यमा अल्जाइमर्सको उपचार कार्यक्रम तथा कान नसुन्ने एवं आँखा नदेख्ने अपांगता भएका व्यक्तिलाई मोबाइल वितरण गरिनेछ भने विपन्न र अपांगता भएका १ हजार परिवारका लागि पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम तय गरिएको छ ।

 

नगर प्रमुख तिमल्सिनाले नगरमा रहेका ज्येष्ठ नागरिकका लागि वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिएको जानकारी दिँदै सामाजिक सुरक्षाबापतको रकम बैंकिङ प्रणालीमार्फत सहज रूपमा वितरण भइरहेको बताए ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अपांगता भएका व्यक्तिका लागि हस्तान्तरण भएका सामग्री सम्बन्धित वडा कार्यालयमार्फत वितरण हुने जानकारी दिए । उनले नगरपालिकाका प्रशासकीय भवनका साथै सबै वडा कार्यालय एवं स्वास्थ्य संस्था अपांगमैत्री बनाइएको
बताए । 

 

नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुरुवारका अनुसार आर्थिक वर्ष २०७७/७८ अन्त्यसम्म नगरपालिकामा ३५० जना अपांगता भएका व्यक्ति छन् । चालू आर्थिक वर्षमा पनि थप अपांगता परिचयपत्र वितरण भइरहेको उनले जानकारी दिइन् ।