close

तिलोत्तमामा फोहोरमैला व्यवस्थापनदेखि बायोग्यास उत्पादनसम्मको हरित परियोजना

तिलोत्तमामा फोहोरमैला व्यवस्थापनदेखि बायोग्यास उत्पादनसम्मको हरित परियोजना

Trulli
ADVERTISEMENT

रूपन्देही–तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि हरित पुनर्उत्थान प्रवद्र्धन परियोजना (पिजीआरपी) सुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागिता बास स्वास्थ्य सहकारी संस्थाको आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो ।

 

परियोजनाले फोहोरमैला व्यवस्थापनका साथै ४० जनाका लागि प्रत्यक्ष रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारीमार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षित वर्गलाई रोजगारी अवसर सिर्जना गर्नुका साथै फोहोर व्यवस्थापन स्रोतबाटै सुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख वासुदेव घिमिरेले बताए । 

 

यसका लागि घर, उद्योग, व्यवसाय तथा संघ–संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारी अवसर सिर्जना गरिनेछ ।

 

परियोजनाअन्तर्गत बायोग्यास तथा प्रांगारिक मल उत्पादन गर्ने तथा व्यावसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको स्रोतलाई बढावा दिने उद्देश्य राखिएको छ । 

 

कार्यक्रमकोे पहिलो वर्षमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यमा संलग्न करिब ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुनप्र्रयोग तथा विसर्जन गर्ने सीप एवं रोजगारी अवसर प्रदान गरिनेछ ।

 

परियोजनाबाट रोजगारीमा ७० प्रतिशत विपन्न महिलालाई प्राथमिकतामा राखी २६० जनाले प्रांगारिक मल र बायोग्यास उत्पादन तथा व्यावसायिक जैविक खेतीसम्बन्धी सीप तथा रोजगार अवसर प्राप्त गर्नेछन् ।

 

यस्तै, नगरपालिकाभित्रका २६० घरधुरीलाई प्रांगारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ । आयोजनाले व्यवस्थित फोहोर संकलन एवं फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

 

परियोजनाअन्तर्गत यूएनडीपीले तिलोत्तमालाई कोभिड–१९ पछिको हरित पुनःस्थापनासम्बन्धी योजना निर्माण र कार्यान्वयनगर्न टेवा पु-याउनेछ । परियोजनाले हरित पुनःस्थापनामा फोहोरमैला व्यवस्थापनको महत्त्व दर्शाउनुका साथै फोहोर व्यवस्थापनमा पनि अवसर सिर्जना हुने उदाहरण प्रस्तुत गर्ने नगरप्रमुख घिमिरेको भनाइ छ ।

 

ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नाराको साथ अगाडि बढिरहेको तिलोत्तमामा यो परियोजनाले अझ प्रभावकारी रूपमा फोहोर व्यवस्थापनको काम गर्ने उनको विश्वास छ ।

 

उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहोरलाई परियोजनामार्फत दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पु-याउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडलले साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको एकीकृत योजना बनाइने बताए ।