close

मेलम्ची बाढी प्रभावितले भेटे प्रधानमन्त्री देउवा, तत्काल तटबन्ध व्यवस्था मिलाउन माग

मेलम्ची बाढी प्रभावितले भेटे प्रधानमन्त्री देउवा, तत्काल तटबन्ध व्यवस्था मिलाउन माग

Trulli
ADVERTISEMENT

काठमाडौं- मेलम्चीका बाढी प्रभावित स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । भेटमा मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन उनीहरूले माग गरे ।


मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्री र देउवालाई बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेको हो ।

 

बाढी प्रभावितले नदीलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने, बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । 


यस्तै, बैंकको ऋणबाट व्यवसाय गरिरहेकालाई ब्याज मिनाहा र सहुलियतको व्यवस्था मिलाउनुपर्ने, किसान, उद्योगी, व्यापारी विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्नुपर्ने, मेलम्ची र हेलम्बुमा तत्काल बेलीब्रिजको व्यवस्था गर्नुपर्ने, विद्युत् महसुलमा छुटको प्रबन्ध मिलाउनुपर्ने मागसमेत गरिएको छ । 


बाढीग्रस्त क्षेत्रको पुनर्निर्माण गर्न बृहत् परियोजनाका लागि सरकारले आवश्यक बजेट व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, जीवन निर्वाह गर्न रोजगारी र उनीहरूका सन्तानलाई उच्च शिक्षासम्मका लागि सरकारले प्रबन्ध गर्नुपर्ने माग राखिएको छ । 


प्रधानमन्त्री देउवाले बाढीपहिराले मेलम्ची क्षेत्रमा पुर्‍याएको क्षतिबारे जानकार रहेको बताउँदै मेलम्चीबासीले राखेको माग सम्बन्धमा सरकार गम्भीर रहेको जानकारी दिए ।


मेलम्चीमा १ असार २०७८ राती परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको थियो ।