close

ट्राफिक प्रहरी कार्यालय उदयपुरद्वारा १ करोड २६ लाख राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय उदयपुरद्वारा १ करोड २६ लाख राजस्व संकलन

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २६ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा २५ लाख ११ हजार ५ सय रुपैयाँ बढी राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ६ सय सवारी चालकलाई कारबाही गरी सो राजस्व संकलन भएको हो ।


कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक र त्यसपछि क्रमशः जिप, ट्रक तथा टिपर चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक (सई) लीलाकुमार श्रेष्ठले बताए । ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी चैतमा २ हजार ३ सय सवारी कारबाहीमा परेका छन् । यसबाट १४ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व उठेको थियो ।


यसैगरी सबैभन्दा कम जेठमा ३ सय सवारी कारबाहीमा परेका छन् । त्यसबाट २ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । ७ हजार ९ सय ७० मोटरसाइकल चालक कारबाहीमा परेका छन् । मोटरसाइकल चालकलाई गरिएको कारबाहीबापत ५० लाख २५ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ । यस्तै, ४ हजार ६ सय १ ट्रक तथा टिपरलाई गरिएको कारबाहीबापत २८ लाख २४ हजार राजस्व संकलन भएको छ । 

 

३ हजार ५ सय ७७ जिपलाई गरिएको कारबाहीबापत २१ लाख ३३ हजार रुपैयाँ राजस्व उठेको छ । १ हजार ७ सय १२ ट्रयाक्टरलाई गरिएको कारबाहीबापत १० लाख ६५ हजार रुपैयाँ राजस्व सरकारको नाममा जम्मा भएको छ भने ५ सय ६१ बसमाथि गरिएको कारबाहीबापत ३ लाख ४१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, २ हजार १ सय ४१ अटोबाट ११ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।


कोरोना महामारीका कारण लक्ष्यभन्दा कम राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले भने, ‘चालकलाई जनचेतना तथा ट्राफिक नियमबारे दैनिक जानकारी दिँदै आएका छौँ । एक कार्यक्रम चलायो अर्को दिन नियम उल्लंघन हुने गर्छ ।’