close

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र निर्माण हुने

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकामा धुलिखेल अस्पतालको स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । यसका लागि सरोकारवालाबीच छलफल चलिरहेको छ । नगरपालिकाको वडा नम्बर ११ को भालुखर्क स्वाराडाँडामा अनुसन्धान केन्द्र निर्माण गर्ने तयारी भएको हो । 


अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले उक्त स्थानमा रहेको झन्डै डेढ सय रोपनी सार्वजनिक जग्गा धुलिखेल अस्पताललाई उपलब्ध गराउने निर्णय दसौँ नगरसभाबाट गरिसकेको छ । अनुसन्धान केन्द्र स्थापना हुने ठाउँ धुलिखेलबाट १८ किमि दूरीमा चयन गरिएको छ । केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानको नेतृत्व लिनेछ भने नेपालसहित विश्वभरका विशेषज्ञ यसमा संलग्न हुनेछन् । 


स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमका लागि यो अगुवा केन्द्रको रूपमा विकास हुने बताइएको छ । अनुसन्धान केन्द्र निर्माणका विषयमा सोमबार धुलिखेल अस्पतालमा नगरपालिका, स्थानीय र अस्पतालबीच छलफलसमेत सम्पन्न भएको छ । 


छलफलमा नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धलाई कृषि, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्र बनाउने उद्देश्य रहेको र सोहीअनुसार विभिन्न निकाय र संस्थासँग सहकार्य गर्दै अघि बढेको बताए ।


नगरपालिकाभित्र मदन भण्डारी विश्वविद्यालय, कानुन विश्वविद्यालय, स्टाफ कलेज, कृषि अनुसन्धान केन्द्र तथा युथ इनोभेसन सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको र अब स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनापछि नगरको पहिचान अझै बढ्ने तिमल्सिनाको भनाइ छ ।


नगरपालिकाले स्टाफ कलेज स्थापनाका लागि ९ सय रोपनी जग्गा उपलब्ध गराएर अहिले निर्माण प्रक्रिया अघि बढिसकेको छ भने वडा नम्बर ५ मा कृषि अनुसन्धान केन्द्र स्थापना प्रक्रियासमेत सुरु भइसकेको छ । स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले विशेष पहल गरेको र सोहीअनुसार जग्गा उपलव्ध गराउने निर्णय भएको उनले जानकारी दिए । छलफलमा धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुले केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा नगरपालिका, वडा कार्यालय तथा स्थानीयप्रति आभार प्रकट गरे ।

 

धुलिखेल अस्पताल स्थापना गर्दा अहिलेको अवस्थामा आइपुग्ला भन्ने कल्पना कसैले नगरेको स्मरण गर्दै डा. माकजुले अनुसन्धान केन्द्र स्थापना पनि सुरुआती चरण भएको र यहाँ हुने अध्ययन अनुसन्धानले भविष्यमा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्ने बताए । ‘कुनै पनि कुरा सुरुआत गर्न गाह्रो हुन्छ,’ माकुजले भने, ‘सुरु गरेपछि अघि बढ्न गाह्रो हुँदैन ।’ 


यस्तै, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजुले शिक्षा, स्वास्थ्य, अनुसन्धान र सामुदायिक विकासमा धुलिखेल अस्पताल निरन्तर अघि बढेको र सोही क्रममा नमोबुद्धमा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भएको जानकारी दिए । अनुसन्धान केन्द्रबाट तत्कालको फाइदाभन्दा पनि दीर्घकालिन योजना बनाएर अघि बढ्ने र यसले स्वास्थ्य एवं शिक्षा क्षेत्रमा थप टेवा पु¥याउने डा. कोजुको भनाइ छ ।


छलफलमा नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अनुसन्धान केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन चाँडै आवश्यक कानुनी प्रक्रिया पूरा गरिने र केन्द्र स्थापना हुन लागेको ठाउँसम्मको सडक स्तरोन्नतिलगायतका काम पनि धमाधम सुरु हुने बताए । नमोबुद्ध नगर र समग्र स्वास्थ्य क्षेत्रको उन्नतिका लागि सहकार्य गर्न तयार रहेको पौडेलको भनाइ छ । 


वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङले केन्द्र स्थापनाका लागि स्थानीयसँगको सहमतिसँगै वडाबाट सर्वसम्मत निर्णय गरेर जग्गा उपलब्ध गराउन सिफारिस गरिएको र अन्य भौतिक पूर्वाधार विकासका लागि नगर र वडा तत्पर रहेको बताए ।
उनले वडा नम्बर ११ मा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना हुनु वडाबासीका लागि गौरवको विषय भएको र आफ्नै कार्यकालमा यो कार्य सुरु गर्न पाउँदा खुसी लागेको बताए ।


स्थानीय सरोकारका विषयहरू केन्द्र स्थापनाको सम्झौता हुँदा समेटिने उनको अपेक्षा छ । छलफलमा स्थानीय सूर्य तामाङ, ज्ञानबहादुर तामाङ, सुमना श्रेष्ठलगायतले अनुसनधान केन्द्र स्थापना हुनु खुसीको विषय भएको बताउँदै यसले वडाको पहिचान अझै माथि उठ्ने र वडाको समग्र विकास एवं स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको बताए ।


छलफलमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु, सामुदायिक कार्यक्रम निर्देशक डा. विराज कर्माचार्यलगायतले अनुसन्धान केन्द्र स्थापनाका विषयमा आफ्नो धारणा राखेका थिए । छलफलले एक महिनाभित्र जग्गा प्राप्तिको कानुनी प्रक्रिया तथा अन्य तयारी पूरा गरेर केन्द्र स्थापनाका लागि समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने निष्कर्ष निकालेको छ ।