close

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डमा निर्माण भए १२ पक्की पुल

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डमा निर्माण भए १२ पक्की पुल

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली राजमार्गमा पुलहरू नहुँदा सवारीसाधानका चालकदेखि यात्रुसम्मले सडक यात्रामा झमेला भोग्ने स्थिति छ । मृत्यु मार्गको नामले समेत चिनिने यो राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा गत आर्थिक वर्षमा १२ वटा पक्की पुल निर्माण भएका छन् ।

 

सडक डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३/७४ देखि निर्माण थालिएका पुल गत वर्ष सम्पन्न भएका हुन् । पुल नहुँदा बर्खाका बेला यात्रुले पाउँदै आएको सास्ती केही मात्रामा भने हटेको छ । 

 

पहिले राजमार्गमा पुल नहुँदा निकै समस्या हुन्थ्यो । अहिले सहज भएको कालीकोटका मानबहादुर शाहीले बताए । ‘पुल बने पनि सडकमा खाल्डाखुल्डीका कारण अझै समस्या कायमै छ’, उनले भने, ‘पक्की पुल बनेसँगै सडकका खाल्डाखुल्डी पुरिदिए यात्रा निकै सहज हुन्थ्यो ।’

 

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्मा २०७४ जेठदेखि निर्माण थालिएका ती पुलमध्ये तिलाखोलाबाहेक सबै पुल २०७७ पुस मसान्तमै सम्पन्न भएको बताउँछन् । ‘तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो’, उनले भने ।

 

सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, पाल्तडा, कालेखोला, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् ।

 

४२ करोड ४५ लाख ४९ हजार ४ सय ४४ रुपैयाँ लागतमा पुल निर्माण भएको कार्यालयले बताएको छ । इन्जिनियर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताए ।

 

‘नाली खोल्नुका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यतिखेरको बर्खामास राजमार्ग अवरुद्ध नभएको उनको दाबी छ ।