close

जसपामा उपेन्द्र पक्षले आधिकारिकता पाएसँगै लुम्बिनी सरकार अल्पमतमा

मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग

जसपामा उपेन्द्र पक्षले आधिकारिकता पाएसँगै लुम्बिनी सरकार अल्पमतमा

मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग

Trulli
ADVERTISEMENT

रूपन्देही- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा परेको छ । पोखरेल नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाइरहेका बेला जसपाको आधिकारिकतासम्बन्धी विवाद सल्टिएसँगै अल्पमतमा परेको हो ।


लुम्बिनीमा महन्थ ठाकुर पक्षका ३ जना प्रदेश सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै सरकारमा छन् । यसअघि जसपाकी सांसद सुमन शर्मा रायमाझीले पोखरेल सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिएकी छन् । रायमाझीको राजीनामासँगै पोखरेल सरकार प्रदेशसभाको अंकगणितअनुसार अल्पमतमा परेको थियो । तर, उनले अविश्वासको प्रस्ताव फेस गरेका थिएनन् । उनीविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामै छ ।


हाल लुम्बिनी प्रदेशसभामा ८३ जना सांसद छन् । एमालेका ३८ र ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद पोखरेलको पक्षमा छन् । प्रदेशमा एमालेका माधव नेपाल पक्षमा २ जना सांसद छन् । जसपा केन्द्रीय कार्यकारिणी सदस्य इस्तियाक राईले पार्टी गतिविधिभन्दा बाहिर गएका सांसदलाई कारबाही हुने बताए । ‘पार्टीको नीतिविपरीत जानेहरू कारबाहीका भागिदार हुन्छन्,’ उनले भने । जसपा अध्यक्ष उपेन्द्र यादवले आत्मालोचनासहित गल्ती स्वीकार गर्दै पार्टीमा आए सोच्न सकिने बताएका छन् ।


लुम्बिनीका ३ जना सांसदले त्यसो गरे उनीहरूको पद बच्नेछ । तर, उनीहरूको पद बचेको अवस्थामा पनि मुख्यमन्त्री पोखरेल अल्पमतमा हुनेछन् ।  लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनको दल कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका रायमाझीसहित ३ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४२ सांसद सरकारको विपक्षमा छन् । 


विपक्षी गठबन्धनले गत ६ वैशाखमा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । त्यसको केही घन्टामै रायमाझीसहित जसपाका ४ जना सांसदले मन्त्रीको शपथ लिएका थिए । पार्टीले उनीहरूलाई निर्णयविपरीत सरकारमा गएको भन्दै निष्कासन गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट सांसद पद थमौती गरिदिएको थियो । 


जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादव अब लुम्बिनीमा अर्को सरकार बन्ने बताउँछन् । ‘हामी प्रस्ट बहुमतमा छौँ । मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने, ‘नैतिकता नदेखाउने हो भने अविश्वासको प्रस्ताव फेस गर्न सक्नुपर्छ । त्यतिबेला नै थाहा हुन्छ कसको के छ भन्ने ।’ मुख्यमन्त्री पोखरेललाई समर्थन गरेका ३ जना सांसद पार्टीमा एक-दुई दिनभित्रै नफर्किए कुर्न नसकिने उनले बताए । 


यसअघि गत ६ वैशाखमा विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न १९ वैशाखमा प्रदेशसभाको बैठक राखिएको थियो । तर, पोखरेलले सोही दिन पदबाट राजीनामा दिएर प्रदेश प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्री पदको शपथ लिएका थिए ।


त्यसपछि २६ वैशाखमा विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्ताव अहिलेसम्म पनि प्रदेशसभामै थन्किएको छ । मुख्यमन्त्री पोखरेल अल्पमतमा परेसँगै अब कांग्रेस, माओवादी जसपा र जनमोर्चाको संयुक्त सरकार बन्ने निश्चित छ ।