close

जुम्ला विमानस्थलमा बेथितिका चाङ

असुलिन्छ दोब्बर भाडा

जुम्ला विमानस्थलमा बेथितिका चाङ

असुलिन्छ दोब्बर भाडा

Trulli
ADVERTISEMENT

जुम्ला- नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेअनुसार जुम्लामा नेपाल एयरलाइन्सको आइतबार, तारा एयरको मंगलबार, समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका छ । तर, लामो समयदेखि यी सबैको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती भोग्दै आएका छन् ।


एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीले तालिकाअनुसार उडान हुने हुँदा नागरिकले सेवा लिन नपाएका हुन् । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमानले एजेन्टमार्फत टिकट बिक्री वितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन् ।  एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फी मात्रै हुँदा पनि महँगो भाडा उठाउने गरेका छन् । 


जुम्लादेखि नेपालगञ्जको यात्रा गरेका एक यात्रुले भने, ‘हवाई सेवा अस्तव्यस्त छ । सामान्य नागरिकले टिकट पाउन तोकिएको भाडाभन्दा बढी दिनुपर्छ, नभए सम्भव हुँदैन । टिकट बिक्रीमा बेथिति कायम राख्न अहिलेसम्म ई–टिकेटिङ (अनलाइन) प्रणाली लागू गरिएको छैन ।’ घरबाटै अनलाइन प्रणालीमार्फत टिकट बुकिङ गर्न पाउनुपर्ने हो । तर, जुम्लामा अनलाइन प्रणाली लागू हुन सकेको छैन । 


तालिका र चार्टर उडान उस्तै 

तालिकाअनुसार हुने उडान र चार्टर उडानमा कुनै भिन्नता नभएकोे नागरिकको गुनासो छ । नेपालगञ्जबाट खाली आउनुपर्ने वहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् । यसले यहाँका नागरिकले तालिकाअनुसार उडान भर्ने हवाई सेवाको लाभ लिन पाएका छैनन् ।


यात्रुको गुनासोबारे समिट एयरलाइन्सका स्टेसन म्यानेजर सन्तोष शाही भन्छन्, ‘यसमा हाम्रो कुनै हात हुँदैन । हामी आफैं टिकट पाउँदैनाैँ । निजी विमान कम्पनी एजेन्टसँग सम्झौता गरेको हुन्छ । यसको जिम्मेवार कम्पनी र एजेन्ट नै हुन् ।’


नेपाल नागारक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख प्रकाश शर्माले टिकट बिक्री वितरणमा भएको अनियमितताका विषयमा यात्रुले लिखित रूपमै निवेदन दिए कारबाही हुने बताए । उनले भने, ‘यात्रुको गुनासो छ भन्ने बाहिर हल्ला छ । तर, लिखित रूपमा उजुरी नदिएसम्म कारबाही गर्न सक्ने अवस्था रहँदैन ।’ 


जुम्लामा हवाईजहाजको टिकटमा भएको अनियमितताबारे प्राधिकरणको केन्द्रीय विभागका प्रवक्ता राजकुमार क्षेत्रीसँग बुझ्न पटक–पटक फोन सम्पर्क गर्दा फोन उठेन । जुम्ला विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल्दै आएका छन् ।


जुम्ला देखि नेपालगञ्जसम्मको भाडा ५ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ । तर, जुम्लाका यात्रुबाट ७ हजारदेखि ८ हजार रुपैयाँसम्म उठाइरहेको गुनासो छ । आइतबार मात्रै परीक्षा दिन जाने यात्रु भीमा रावलले नेपालगञ्जसम्मको भाडा ७ हजार रुपैयाँ तिरेको बताइन् । उनले भनिन्, ‘टिकट नपाउँदा परीक्षा छुट्ने भएपछि बढी पैसा तिर्न बाध्य भएकी हुँ । एजेन्टले टिकट नकाटेर पहिला उडान गर्ने गरेका छन् ।’ 


यसअघि धेरै भाडा लिने गरेको भन्दै जुम्ला प्रशासनमा उजुरी परेको थियो । जुम्लाबाट उडान भर्ने हवाईजहाजले खुलेयाम मोटो रकम असुल्दै आए पनि सम्बन्धित निकाय मौन रहेको सर्वसाधारणको गुनासो छ । आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय जुम्ला पनि मौन छ । महँगो भाडाका कारण मारमा परेका सर्वसाधारणले सास्ती भोगेको यो पहिलो पटक भने होइन ।


जुम्लामा टिकट पाउन जनप्रतिनिधिदेखि मन्त्रीसम्मको पावर लाग्ने गरेको छ । सडक सञ्जालल जोडिए पनि वर्षायामको बाढी पहिरोले कर्णाली राजमार्ग बारम्बार अवरुद्ध हुन्छ । जुम्लाको लागि भरपर्दो यातयात हवाई जहाज नै हो । सर्वसाधारण टिकट पाउन १ सातासम्म विमालस्थलमै बसेका हुन्छन् । विमानस्थलको काउन्टर बन्द गरेर सेटिङमा ठूलाबडालाई मात्र टिकट बेचिने गरेको छ । 


हवाई टिकटकै विषयलाई लिएर कहिलेकाहीँ कर्मचारी र यात्रुबीच भनाभनसमेत हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं प्राधिकरणको नियम जुम्लाका कुनै पनि हवाईजहाजले पालन नगरेको बताउँछन् ।


उनले भने, ‘एकातिर नागरिकको बाध्यता छ, महँगो भाडा तिरेर जानुपर्ने । तर, तोकिएभन्दा बढी भाडा तिरेको टिकटसहित उजुरी गर्न आउँदैनन् । टिकटमा भएको अनियमितताबारे बारम्बार गुनासा आए पनि प्रशासनले प्रमाणबिना केही गर्न सक्ने अवस्था छैन ।’