देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) सिन्धुलीको कमलामाई नगरपालिकाको सिन्धुलीगढीमा निर्माण भएको नेपालकै पहिलो युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् उद्घाटन, नेपाली सेनाले संग्रहालय पालिकालाई हस्तान्तरण गर्यो ।
२) कोरोना संक्रमणको जोखिम बढेपछि झापाको मेचीनगर नगरपालिकाद्वारा १९ साउनसम्म सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय, संक्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका अन्य पालिका पनि निषेधाज्ञा र सिल ।
३) वैकल्पिक सिकाइका लागि स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षक तथा विद्यार्थीका लागि इन्टरनेट प्याकेजसहितको नेपाल टेलिकम र एनसेलको सिमकार्ड वितरण गर्यो, सिमसँगै स्वअध्ययन सामग्री पनि प्रदान ।
४) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोना संक्रमितसँग घुलमिल भएका र लक्षण देखिएकाको स्वाब संकलन गर्यो, पालिका कोरोना नियन्त्रणमा थप सक्रिय ।
५) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा-चाँदनी जोड्ने झोलुंगे पुल मर्मत गर्न सुरु गर्यो, बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द ।
६) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको केन्द्रमा भीड ।
७) कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको नगरप्रमुख केशवकुमार श्रेष्ठले गरे उद्घाटन ।
८) काठमाडौंको शंखरापुर नगरपालिकालाई लुमन्ती संस्थाले दियो विभिन्न स्वास्थ्य सामग्री, सामग्रीले कोरोना नियन्त्रणमा सहयोग पुग्ने ।
९) सप्तरीको राजविराज नगरपालिकाले विद्युत् महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले कार्यालयको लाइन काट्यो, पालिकाले प्राधिकरणलाई १६ लाख तिर्न बाँकी ।
१०) जडीबुटीका बिरुवा रोपेपछि दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका किसानले पाए प्रोत्साहन रकम, वन कार्यालय र सर्वोत्तम बहुउद्देश्यीय सहकारीले किसानलाई प्रतिबिरुवा ३ रुपैयाँको दरले रकम दिने ।
११) मकवानपुरको मकवानपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु, विद्यालयमै गएर पढ्न पाउँदा विद्यार्थी दंग ।
१२) कोरोना संक्रमण बढेपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ सिल, अत्यावश्यकबाहेकका सबै सेवा बन्द ।
१३) धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ दमारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रले नयाँ भवनबाट सेवा दिन थाल्यो, केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा पाउने भएपछि सो क्षेत्रका बासिन्दालाई सहज हुने ।
१४) कोरोना संक्रमण बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्यो, कार्यालयबाट प्रवाह हुँदै आएको सेवा १८ साउनसम्म बन्द ।
१५) काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि कर नबुझाउने २० ठूला करदाताको नाम सार्वजनिक गर्यो, करदाताबाट ७० करोडभन्दा बढी राजस्व उठ्न बाँकी ।
१६) स्याङ्जाको हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गर्यो, सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण ।
१७) बर्दियाको ठाकुरबाबा नगरपालिकामा भू-सेवा केन्द्रको कार्यालय स्थापना, भूमिसुधार तथा मालपोत कार्यालयले दिँदै आएको सेवा अब भू-सेवा केन्द्रले प्रदान गर्ने ।
१८) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै पर्साको ठोरी गाउँपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, तत्काल खोपको व्यवस्था गर्न पनि माग ।
१९) नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले वडाबाटै अनलाइन घटना दर्ता सुरु गर्यो, पालिकाबासीलाई सहज ।
२०) धनकुटाको पाख्रिबास नगरपालिकाले करारमा १० जना शिक्षक नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।