close

अकासे पुलले  चिटिक्क सिर्जना चोक

अकासे पुलले  चिटिक्क सिर्जना चोक

Trulli
ADVERTISEMENT

कास्की- यात्रु र गाडीको चाप बढेपछि दुर्घटना कम गराउन निर्माण गरिएको पोखराकै पहिलो अकासे पुल निर्माण पूरा भएको छ । परीक्षणका रूपमा पहिलो पटक सिर्जनाचोकमा पुल निर्माण गरिएको हो ।


पुल बनेसँगै पैदलयात्रु अकासे पुलबाट आउजाउ गर्न थालेका छन् । स्व. रवीन्द्र अधिकारीको पहलमा पहिलो पटक यहाँ अकासे पुल निर्माण परिकल्पना गरिएको थियो । 


सुरुमा उनैले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । त्यसपछि पोखरा महानगरपालिकाले त्यसमा रकम थपेर काम सुरु गरेको हो ।


कुल २ करोड १५ लाख रुपैयाँ लागतमा फलाम जडित पुल निर्माण गरिएको महानगरले जनाएको छ । अघिल्लो साउनमै काम सक्नुपर्ने सम्झौता भए पनि कोरोनाको असर देखाएर ठेकेदार कम्पनीले १ वर्षपछि काम सकेको हो । 


५ जेठ २०७६ मा पुल निर्माणका लागि केएम जेबिएनएस पोखरा जेभीसँग सम्झौता भएको थियो । अकासे पुलमा पैदलयात्रुसँगै टिकटक चलाउने र सेल्फी खिच्नेहरूसमेतको भीड लाग्न थालेको छ । महानगरले बढी चाप हुने चोकमा थप पुल निर्माणका लागि चासो दिएको छ । 


तर, जमिन साँघुरो भएकोले पुल निर्माणमा समस्या देखिएको छ । अहिले पृथ्वीचोक, महेन्द्रपुल, सभागृहचोक, अमरसिंहचोक, बिरौटालगायत चोकमा बढी जाम हुन थालेको छ ।


महानगरले चोकमा रहेको आइल्यान्डसमेत घटाएको छ । चोकमा रहेका शालिक हटाएर पार्कमा लगिएको छ । वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालले पुल बनेपछि यात्रुलाई हिँडडुल गर्न सजिलो भएको बताए । पोखरा पर्यटकीय सहर र प्रदेशको राजधानी भएका कारण पनि यात्रुको चाप बढ्न थालेको छ ।