close

भीरकोटमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु

भीरकोटमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारी फोहोरमैला व्यवस्थापन केन्द्रको प्रशासकीय भवन निर्माण सुरु भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् ।


कार्यक्रममा मन्त्री लम्सालले ३ वटै  तहका सरकारबीच समन्वय भए मात्रै नेपाललाई समृद्ध बनाउन सकिने बताए । उनले भने, ‘पर्यटनका माध्यमबाट समृद्धि र विकास सम्भव छ । त्यसका लागि प्रदेश सरकारले पहल गरिरहेको छ ।’ 


मन्त्री लम्सालले कोटैकोटले भरिएको स्याङ्जा पर्यटनका लागि सम्भावना बोकेको जिल्ला भएकाले भीरकोटमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लम्सालले भने, ‘भीरकोटले सरसफाइका लागि अगाडि सारेका योजनाले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ ।’


नगरपालिकाले फोहोरबाट चालू आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको जनाएको छ । प्रशासकीय भवन निर्माणका लागि १ करोड ९९ लाख ५५ हजार १ सय ३० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भवन निर्माणसँगै पानी पोखरी, सौचालय, कभर्ड हल र ल्यान्डफिल्ड साइटको भित्री बाटो ग्राभेल गरिनेछ ।


नगरपालिकाले आव ०७५/७६ मा ३९ लाख ७६ हजार र ७६/०७७ मा २० लाख रकम विनियोजन गरेको थियो । अहिलेसम्म सिसौघारीमा भवन निर्माण, पार्क निर्माण, कम्पाउन्ड वाल र शौचालय निर्माण भइसकेको नगरपालिकका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।


नगरप्रमुख छायाराम खनालले नगरलाई फोहोरमुक्त बनाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने योजनासहित काम अगाडि बढेको जानकारी दिए ।   


कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, गण्डकी प्रदेश सांसद दीपक चर्ती मगरलगायत उपस्थित थिए ।