close

साझा एजेन्डामा काम गर्न उद्योगी, व्यवसायी सहमत

नवनिर्वाचित उद्योग परिसंघ पदाधिकारीलाई महासंघको सम्मान

साझा एजेन्डामा काम गर्न उद्योगी, व्यवसायी सहमत

नवनिर्वाचित उद्योग परिसंघ पदाधिकारीलाई महासंघको सम्मान

Trulli
ADVERTISEMENT

काठमाडौं– देशकाे समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकतामार्फत साझा एजेन्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।


उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले कार्यगत एकतामा जोड दिएका हुन् । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासंघ सचिवालयमा मंगलबार स्वागत कार्यक्रम आयोजना गरेको छ ।


कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले सीएनआईका पदाधिकारीको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखे । उनले निजी क्षेत्रको प्रवद्र्धनका लागि दुवै संस्थाबीच साझा एजेन्डा तय गरेर अगाडि बढ्न उनले सुझाए । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र निर्माण गरेर जान सकिने गोल्छाको धारणा थियो ।


कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र, उद्योग व्यवसाय कमजोर बनेको समय श्रमिक कामदारको तलबको विषय, कृषिमा विदेशी लगानी, बन्द, हडताललगायत मुद्दामा भएका सहकार्यबाट ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरेर जानुपर्ने धारणा गोल्छाले राखे ।


अध्यक्ष गोल्छाले सीएनआईको नयाँ नेतृत्वसँग सहकार्य गर्न महासंघ तत्पर रहेको बताए  । ‘मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडि बढाएको मेक इन नेपाल अभियानलाई कहाँ र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ, पहल गरौं’, अध्यक्ष गोल्छाले भने । 


सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुुकुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न संस्था तयार रहेको विश्वास दिलाए ।


अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिँदै भने, ‘अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्र पहिचान गरेर अगाडि बढ्नैपर्छ ।’ नवनिर्वाचित टिमको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकामा उनले महासंघलाई धन्यवाद दिए । 


सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षत्रय दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन, सीएनआईका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र हेमराज ढकालले अर्थतन्त्रको करिब ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रमाथि अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोण रहेकाले यसमा परिवर्तन गरिनुपर्ने आवश्यकता औंल्याए ।