close

मिक्लाजुङका पालिका अध्यक्ष जाे साइकलमै हिँडेर जनताकाे सेवा गर्छन् (भिडियाे खबर)

मिक्लाजुङका पालिका अध्यक्ष जाे साइकलमै हिँडेर जनताकाे सेवा गर्छन् (भिडियाे खबर)

ADVERTISEMENT

मोरङ- संघीयता लागु भएसँगै भ्रष्टाचार बढेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्ने प्रतिवेदनले नै देखाएको छ । संघीय सरकारको तुलनामा प्रदेश र स्थानीय तहमा अत्यधिक भ्रष्टाचार भएको जिकिर गरिएको छ । ७ सय ५३ स्थानीय तहलाई नै अधिकार दिँदा अधिकारको दुरुपयोग हुने, स्रोतसाधनको दूरुपयोग भएको समेत उल्लेख गरिएको छ । 


अझ, जनप्रतिनिधिको गाडी मोहको त चर्चा नभएको होइन । तर, यिनै जनप्रतिनिधिबीच कोही त्यस्ता पनि छन्, जसलाई यि सब कुराको कुनै चिन्ता छैन । जो हरेक दिन गाडीमा होइन साइकलमा कार्यालय जान्छन् र घर फर्कन्छन् । गाडी नचढी नहुने स्वभाव जनप्रतिनिधिमा विकास भइरहँदा साइकलमा कुद्ने जनप्रतिनिधि देख्दा नागरिक पनि दंग छन् । 

 

मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष हुन् देवीप्रसाद आचार्य । उनी हरेक दिन साइकलमा कार्यालय पुग्छन् । गाउँका समस्या बुझ्न होस् वा अन्य काम गर्न उनी साइकलमा नै ओहोरदोहोर गर्छन् ।

 

अध्यक्ष भएर गाडी चढ्नुपर्ने ठाउँमा उनी साइकलमा सररर हुइँकदा धेरै अचम्म पर्छन् । हुन पनि जनप्रतिनिधि भएपछि गाडी चढ्नैपर्छ भन्ने सोच्ने जनप्रतिनिधिको हुलमा आचार्य फरक सावित हुँदा नागरिक अचम्मित नपर्ने त कुरै भएन । 


अध्यक्ष आचार्य साइकल कुदाउने मात्र होइन । केही भए आफै साइकल पनि मर्मत गर्छन् । साइकलमा कुद्दा उनी आर्थिक भारसँग सँगै स्वास्थ्य पनि राम्रो हुने दावी गर्छन् 

 

उनकै पालिकामा कति मोटरबाइकमा आउजाउ गर्छन् । तर, उनी भने साइकलमै आउजाउ गर्छन् । साइकललाई पार्क गर्छन्, हात मुख धुन्छन् । अनि सुरु गर्छन्, कार्यालयको काम । यो उनको दैनिकी हो । 


उनको यही सादगी व्यवहार अहिले गाउँपालिकाको चिनारी पनि बनेको छ । आचार्य यसरी साइकलमा आउन थालेको भने धेरै भएको छैन । कोरोनाको समयमा गाउँपालिकासँग भएको दुवै गाडी बिरामी बोक्न प्रयोग गरिएपछि अहिले उनी साइकलमा हुइँकिरहेका छन् । 


अधिकांश स्थानीय तहका जनप्रतिनिधिमा सेवा भाव भन्दा पनि सेवा सुविधाको मोह नै हुने गरेको पाइन्छ । यस्तो मोह भन्दा बाहिर निस्किएर आचार्यले खेलेको भूमिका निकै उत्कृष्ट छ ।