close

सुगमका बजेट चिल्ला सडकमा, दुर्गमका बजेटजति गोरेटो बाटोमा 

एक किलो नुन किन्न सय रुपैयाँ

सुगमका बजेट चिल्ला सडकमा, दुर्गमका बजेटजति गोरेटो बाटोमा 

एक किलो नुन किन्न सय रुपैयाँ

Trulli
ADVERTISEMENT

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाले ६० प्रतिशत भन्दा बढी पूँजीगत रकम गोरेटो–घोडेटो बाटो निर्माणमा खर्च गर्ने भएको छ । गण्डकी प्रदेशमै सडक संजाल नपुगेको पालिका हो, नार्पाभूमि । तल्ला क्षेत्रमा चिल्ला सडक निर्माणको प्रतिस्पर्धा चलिरहँदा नार र फु गाउँमा गोरेटो बाटो बनाउनै भ्याई नभ्याई छ ।

 

उनीहरुका लागि मोटर चढेर गाउँ पुग्ने सपना आकाशको फल जस्तो छ । त्यसैले पालिकाको अधिकांश बजेट समेत गोरेटो बाटोमा खर्च गरिएको हो । यो वर्ष ७ करोड पूँजीगत खर्च छ । वर्षेनी अधिकांश रकम गोरेटो बाटोमा खर्च हुने गरेको पालिकाले जनाएको छ । 

 

‘मान्छे हिड्ने बाटो पनि राम्रो छैन । सडकको कुरा धेरै पर भयो । घोडेटो बाटो बनाउन ठूला पहाड फोड्नुपर्छ,’ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डित भन्छन्,‘उत्तरी गाउँलेलाई दुख छ ।’ गएको बर्खामा यी बाटोहरु पूरै ध्वस्त भएका छन् । ‘अहिले त पानी नै आएको हो । कति पुराना मान्छेले पनि यसअघि पानी परेको थाहा पाएका रहेनछन्,’ उनले भने, ‘जलवायू परिवर्तनकै असर हुन सक्छ । ४ वर्ष लगाएर बनाएको बाटो सबै बग्यो ।’ 


यो वर्षको बजेटमा पनि अधिकांश रकम बाटोमै खर्च गरिएको उनले सुनाए । कोतोदेखि मेतासम्मको बाटोका लागि ५० लाख र क्याङदेखि फूसम्मको बाटोका लागि २० लाख रुपैयाँसमेत गरी पालिकाबाट ७० लाख विनियोजन भएको छ । 

 

वडाका पैसा पनि सबै बाटोमै लगाइएको कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का सदस्य सोनाम लाक्पा शेर्पाले बताए । ‘४ नम्बर वडालाई ६० लाख रुपैयाँ बजेट परेको थियो । ३० लाख बाटोको ट्रयाक खन्ने निर्णय भएको छ । ५ नम्बरले पनि बाटोमै लगायो,’ उनले भने, ‘अरु वडाले पनि धेरै पैसा मान्छे हिड्ने बाटोमै लगाएका छन् । हामीलाई मान्छे हिड्ने बाटो नै सबैभन्दा ठूलो विकास हो ।’ 

 

उनका अनुसार वडा नम्बर १ ले १८ लाख, २ ले ५० लाख, ३ ले १० लाख र ५ ले २२ लाख रुपैयाँ बाटो बनाउनमै खर्च गरेका छन् । त्यसबाहेक काठेपुल निर्माण र पर्खाल निर्माणमा थप पैसा खर्च भएको छ । खच्चड हिड्ने बाटो समेत नभएकोले त्यहाँका स्थानीयलाई हेलिकोप्टर मार्फत खाद्यान्न ओसारेर वितरण गरिएको छ । 

 

सडक संजाल नपुगेकोले नार र फु क्षेत्रमा ढुवानी निकै महंगो पर्छ । तल्लो क्षेत्रको तुलनामा यी गाउँहरुमा ८ गुणासम्म मुल्य बढी छ । एक पोका नुनको मुल्य १ सय रुपैयाँ भन्दा बढी पर्छ । ढुवानीका कारण दैनिकी महंगो परेको स्थानीय सोनाम तेजे लामाले बताए । 

 

‘खच्चडमा ल्याउँदा एक किलोको ६० रुपैयाँ पर्छ । महंगो साह्रै छ,’ उनले भने,‘मान्छेलाई लगायो भने एउटैले १० हजार रुपैयाँसम्म भाडा लिन्छन् । अनि कसरी चल्छ ?’

 

पालिकाले कोतोदेखि सडक निर्माणको काम सुरु गरेको छ । तर भीमकाय भीर भएकोले बजेटको उपयोग खासै हुन पाएको छैन । प्रदेश सरकारले पहिलो कार्यकालभित्रै सबै पालिकामा सडक संजाल पुर्‍याउने दावी गरेपनि नार्पाभूमिमा सडक संजाल पुग्ने संकेत देखिँदैन ।