close

डेढ अर्बकाे लगानीमा शुद्धोधनमा खुल्यो उद्योग 

डेढ अर्बकाे लगानीमा शुद्धोधनमा खुल्यो उद्योग 

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको शुद्धोधनमा डेढ अर्वको लगानीमा आलुका परिकार उत्पादन गर्ने फस्ट च्वाइस फुड उद्योग खुल्ने भएको छ । रुपन्देहीमा विगत लामो समय देखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालीटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका कृष्ण प्रसाद पौडेलको लगानीमा आलु सम्बन्धी विभिन्न परिकार उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा आउन लागेको हो ।


रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मैनैहामा करिव डेढ अर्व लगानीमा उद्योग सञ्चालन हुन लागेको छ । खासगरी स्वदेमा नै उत्पादन हुने आलुको उपयोग गरी आलु जन्य विभिन्न परिकारहरुको आयात विस्तापित गर्ने उदेश्य सहित उद्योग नयाँ बर्ष देखि उत्पादन सुरु हुन लागेको हो ।

 

कम्पनीका सञ्चालक कृष्ण प्रसाद पौडेलका अनुसार प्रति मिनेटमा ३ टन आलु खपत गरी २ टन आलु जन्य बस्तु उत्पादन गर्ने क्षमताको उक्त उद्योग सञ्चालनको अन्तिम तयारीमा छ । जसको लागि हाल विभिन्न पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी किसानहरुलाई आलु खेतीमा प्रोत्साहन गर्ने र उत्पादन पछिको खरिदका लागि ग्यारेन्टी समेत गर्ने गरी आलु खेती विस्तार गर्नको लागि हाल अभियान नै सञ्चालन गरेको छ । सञ्चालक पौडेलका अनुसार डेढ अर्वको लगानीमा पुर्णरुपमा रोवर्टेड स्वचालित उद्योग नेपालको पहिलो उद्योगको रुपमा हुनेछ ।


२०८२ साल सम्ममा नेपालमा आलुजन्य विभिन्न उत्पादन आयात विस्तापित गर्ने उद्धेश्यका साथ यो परियोजना सञ्चालन गरिएको कम्पनीका व्यवस्थापक अनिश कुमार खड्का बताउँछन् ।

 

उनका अनुसार नेपालमा उत्पादन भएको फ्रेन्च फ्राई, आलु चिप्स, आलु रिङ्ग, आलु टिक्का, आलु रोल सहितका विभिन्न परिकारहरु उद्योगले बंगलादेश, भारत पाकिस्थान, लगायतका देशमा विक्री गर्ने योजना समेत राखेको छ ।


फष्ट च्वाईस फुट्स प्राालि नाम दिएर सुरुवात गरिएको कम्पनीले नेपालका किसानहरुलाई आलु खेतीमा विशेष प्रोत्साहन गर्ने गरी योजना समेत ल्याएको छ । विउ, मल, प्राविधिक सेवा लगायत सबै उत्पादन पुर्व उपलब्ध गराउने, उत्पादन पछि खरिद गर्ने ग्यारेन्टी सहितको योजना कम्पनीले ल्याएको छ ।

 

कम्पनीमा आवद्ध आलु विशेषज्ञ डा. श्याम प्रसाद ढकालका अनुसार हाल नेपालमा अर्बौँको आलु र आलुजन्य परिकार आयात हुदै आएकोमा स्वदेशी किसानहरुलाई नै आलु खेतीमा प्रोत्साहित गरी स्वदेशमै उत्पादत बस्तु विदेश निर्यात गरेर आलु आयात प्रतिस्थापन गर्ने गरी कम्पनीले काम गर्ने जानकारी दिए । जसको लागि कम्पनीले ट्स्यु कल्चर सहितको प्रयोगशाला स्थापना सहित विभिन्न स्थानमा कोल्डस्टोर समेत निर्माण गर्ने छ । 


दाङ, भैरहवा, बाँके, बर्दियामा भएका चिस्यान केन्द्रमा आलु संकलन तथा स्टोर गरी आवश्यकता अनुसार प्रयोग गर्ने छ । उद्योगबाट फ्रेन्च फ्राई, पोटाटो नगेट्स, चिप्स, समोसा, पकौडा, बल्स आदि एक दर्जन परिकार उत्पादन गर्नेछ । ट्रकबाट मेसिनमा आलु खसालेपछि चाहेको परिकार तयार भएर आउने गरी मेसिन जडान हुदै छन् ।


उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आलुको आपुर्तिका लागि प्रालिले पहिलो चरणमा ५ हजार किसानमार्फत ६०० हेक्टरमा, दोस्रो चरणमा २० हजार बढी किसानमार्फत १८ सय हेक्टरमा र तेस्रो चरणमा ५० हजार किसानलाई आलु खेतीमा आवद्ध गराउने योजना बनाएको छ ।


आलु खेतीका लागि प्रालिले कन्ट्याक्ट फार्मिङको अवधारणा अनुसार रुपन्देहीको शुद्धोधन र तिलोत्तमा नगरपालिका तथा दाङ, बर्दिया, बांके लगायतका जिल्लाका किसानलाई निःशुल्क बिउ, मल र प्रविधि उपलब्ध गराउने नीति बनाएको सञ्चालक पौडेलले बताए । किसानले दुई सिजन आलु उत्पादन गर्न सक्ने र उत्पादित आलु उद्योगले उचित मूल्यमा खरिदको सुनिश्चितता गरिदिने छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउंदा सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ ।