close

कोरोना प्रभावित भोकै, कोटामा आएको चामल माटोमा गाडियो 

कोरोना प्रभावित भोकै, कोटामा आएको चामल माटोमा गाडियो 

Trulli
ADVERTISEMENT

सुर्खेत– कोरोना महामारीमा गरिब विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै सडाइएको पाइएको छ ।


दैलेखको नौमुले गाउँपालिकाले कोरोना महामारीबाट प्रभावित परिवारलाई वितरण गर्न भनेर आफैले खरिद गरेको चामल वितरण गर्न नपाउदै गोदाममै सडाइएको छ । 


एक सय ५५ वोरा चामल शनिबार मुचुल्का गरी गाडेपछि यसको खुलासा भएको हो । नौमुले गाउँपालिकाले होटल नमस्तेको पछाडिको हलमा चामल थुपारेर सडाइएको छ ।


पालिकामा २०७६ चैतमा खाद्य डिपो दैलेखबाट झण्डै १ हजार ५६० बोरा चामल खरिद गरिएको थियो । भारतबाट आएकाहरु, गाउँमा खाद्यान्न कम भएका र असिना पीडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो ।


गाउँपालिकाले आफुसँग भएको चामलबारे समेत अनविज्ञता देखाएको छ । यता गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने चामल राख्ने गोदाम पनि ओसिलो भएको र असारको महिनामा ल्याउदा केही चामल भिजेकोले वितरण नगरेको दावी गर्छन् ।


‘करिब २७ लाख बराबरको चामल खरिद गरिएको हो गाउँपालिका अध्यक्ष बुढामगरले भने, ‘खरिद गरिएको चामलमध्ये केही चामल ओसारपसार गर्दा पानीले भिजेको र केही चामल राखेको ठाउँ ओसिलो भएका कारण विगे्रकाले वितरण गरेका थिएनौँ ।’


खरिद गरिएको मध्ये अरु सबै वडा कार्यालय र क्वारेन्टाइनमा पठाइएको र  सडेको चामल गोदाममै थन्किएको उनको दावी छ ।


‘केही दिन पहिले मात्रै सडेको चामललाई हामीले पत्रकार, नागरिक समाज, स्थानीय बुद्धिजिबी, राजनीतिक दल र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडेका छौं’, उनले भने ।


करिब २७ लाखको कतिबोरा चामल वितरण गरियो र कति ल्याइएको थियो भन्ने विषयमा भने अध्यक्ष अनविज्ञ देखिएका छन् । पालिकाका स्थानीयले चामल खरिद प्रक्रियाभन्दा पनि वितरण प्रक्रियामा मिलेमतो रहेको हुनसक्ने बताए । 


‘उनीहरुले चामलको ढूवानीमा समेत भ्रष्टाचार गरेका छन् । एक रुपैंया प्रतिकेजी ढुवानी गर्छु भनेर भन्ने ट्रकलाई तीन रुपैंया प्रतिकेजी भुक्तानी दिएको पाइएको छ,’ स्थानीय नेता सशीराम विकले भने, ‘विश्व खाद्य कार्यक्रमबाट ल्याइएका चामल पनि विक्री गरेको पाइएको छ । तर त्यो पैसा कहाँ छ पालिकाले जानकारी पनि दिएको छैन ।’


राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा पालिकाका अध्यक्ष तथा पदाधिकारीले उतिबेला चामल वितरण गरेको उनको आरोप छ ।


‘पैक, द्वारी, कालिका लगायतका स्थानमा असिनापीडितलाई चामल वितरण गर्ने भनिएको थियो । मन परेकालाई चार बोरा, नपरेकालाई एक बोरा पनि नदिएको गुनासो आएको छ,’ उनले भने ।