close

टिकटकमा ‘भाइरल रोड’को कथा 

टिकटकमा ‘भाइरल रोड’को कथा 

Trulli
ADVERTISEMENT

सुर्खेत– वरिपरि हरियाली खेत । चारैतीर मनमोहक दृश्यसँगै वीरेन्द्रनगरको सुन्दर मुहार । त्यहि सुन्दर फाँटको बीचमा फराकिलो कालोपत्रे गरिएको पक्की सडक । नागबेली सडकबाट पर–परसम्म देखिन्छ, हरियाली नै हरियाली ।


वीरेन्द्रनगर नगरपालिका– १० स्थित करिब दुई किलोमिटर उक्त सडकखण्ड अहिले सामाजिक संजालमा ‘भाइरल’ छ । जहाँ म्युजिक भिडियो बनाउन र सेल्फी, टिकटक खिच्न आउनेको घुइँचो लाग्ने गरेको छ  ।


यो सडक खेतको बीचमा बनेको छ । खेतमा हुर्किँदै गरेको धानबाली र दुबै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेको छ । बेलुकाको समयमा अझ आकर्षक देखिन्छ ।


त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडियोहरू सामाजिक सञ्जालमा राख्न थालेपछि भीडभाड वढेको हो । हरेक साँझ पन्ध्रसय भन्दा बढी पर्यटक म्युजिक भिडियो खिच्न र टिकटक, फोटो खिच्न यहाँ आइपुग्छन् । सामाजिक संजाल टिकटिकबाट भाइरल भएको यो सडकमा अचेल दिनहुँजसो म्युजिक भिडियो सुटिङ भइरहेको हुन्छ  ।


कैलाली, बाँके बर्दिया, काठमाडौं पोखरासम्मबाट यहाँ घुम्न र म्युजिक भिडियो बनाउन आउनेहरु भेटिने गर्छन्  । आफुले सामाजिक संजाल टिकटकमा भाइरल भएको देखेर घुम्न आएको बताउँछन् पोखराबाट आएका सुनिल साक्य । 


‘सामाजिक संजालमा निकै भाइरल भएको देखे यहाँ नआइ मन मानेन’ उनी भन्छन्, वडो रमाइलो रहेछ ।’ 


वीरेन्द्रनगर –७ की कमला शाहीले टिकटक चलाउँदै गर्दा उक्त सडकमा बनेका भिडियोहरू देखिन् । भिडियो हेरेपछि उनी शनिबार पहिलोपटक सडकमा पुग्दा  सोचेभन्दा धेरै मानिस जम्मा थिए  । 


शनिबार उनी र उनका साथीहरू पनि टिकटकको लागि भिडियो बनाउन र तस्बिर खिच्न व्यस्त देखिन्थे । 


‘मैले टिकटकमा देखेर यो सडकको बारेमा थाहा पाएकी हुँ, म आज पहिलोपट यहाँ आएँ,’ उनले भनिन, ‘यहाँ आउँदा सोचेभन्दा धेरै मानिस पाएँ, पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य पनि थपिएको महसुस भएको छ ।’


यो भाइरल रोड सडकखण्डसम्म पुग्न सुर्खेत विमानस्थलबाट करिब पाँच मिनेट लाग्छ । तीनकुने चोकबाट दक्षिणतर्फ रहेको यो सडक आर्थिक वर्ष २०७७/०७८ मा कालोपत्रे भएको हो  ।


यसअघि सुर्खेतकै पाताल दरबार, सहिद पार्क, डिएनपी  डाँडा, जर्बुटा, जिरो ड्याम लगायतका स्थान पनि सामाजिक सञ्जालमा भाइरल भएका थिए । भाइरल बनेको सडकमा वीरेन्द्रनगर उपत्यकाकै मानिसहरू घुमफिरका लागि आउने गरेको वडा अध्यक्ष रत्न बहादुर बुढाले बताए ।


उनका अनुसार एक करोडको लागतमा सडकको स्तरोन्नति गरिएको हो । सडकका केही संरचना भने बन्न बाँकी छ । नाली नबन्दा सडक भत्किने सम्भावना भएपछि यो आर्थिक वर्ष नाला बनाउन थप एक करोड रकम विनियोजन गरिएको उनले बताए । सडकमा मानिसको भीड बढ्न थालेपछि रेखदेखका लागि प्रहरीलाई आग्रह गरिएको उनले बताए ।