close

सामाजिक सुरक्षा परिचय-पत्र बाँढ्न घुम्ती शिविर 

सामाजिक सुरक्षा परिचय-पत्र बाँढ्न घुम्ती शिविर 

Trulli
ADVERTISEMENT

खोटाङ- सामाजिक सुरक्षा परिचय-पत्र नवीकरण तथा वितरणका लागि खोटाङको साकेला गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेको छ । सबै प्रकारका सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीको समस्यलाई मध्यनजर गर्दै गाउँपालिकाले गाउँ-गाउँमै पुगेर सामाजिक सुरक्षा परिचय-पत्र नवीकरण तथा वितरणका लागि घुम्ती शिविर आयोजना गरेको हो । 

 

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढिकरण आयोजना अन्तरगत सामाजिक सुरक्षा परिचय-पत्र नवीकरण तथा वितरणका लागि गाउँपालिकाका तीन स्थानमा घुम्ती शिविर आयोजना गरिएको गाउँपालिकाका एमआइएस अपरेटर डिएम चाम्लिङले बताए । 


सामाजिक सुरक्षाभत्ता लिँदै आएका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त-अपांगता भएका व्यक्ति तथा बालबालिकाको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा वितरणका लागि २४ साउनमा जालपा आधारभूत विद्यालय बाँझेच्यानडाँडा र २५ साउनमा चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडामा शिविर सम्पन्न भइसकेको छ । 

 

मंगलबार र बुधबार साकेला गाउँपालिका-५ मात्तिमविर्ताको कार्यालयमा सामाजिक सुरक्षा परिचय-पत्र नवीकरण तथा वितरण सम्वन्धी घुम्ती शिविर कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ । 

 

नेपाली नागरिकता, सामाजिक सुरक्षा परिचय-पत्र, अशक्त÷अपांगता भएका व्यक्ति र वालबालिकाको हकमा परिचय-पत्र तथा जन्मदर्ता सहित तोकिएका शिविरस्थलमा स्वयं वा संरक्षक उपस्थित भएर सामाजिक सुरक्षा परिचय-पत्र नवीकरण गर्ने व्यवस्था मिलाइएको एमआइएस अपरेटर चाम्लिङले बताए । 

 

सामाजिक सुरक्षा भत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको खुलासा भएको केही समयपछि ५ वडा रहेको गाउँपालिकाले गत वर्षदेखि बैंकमार्फत सम्वन्धित व्यक्तिको हातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । 

 

साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । वडा-वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान नै चलाएको थियो ।