close

पोखरा महानगरकै वडामा थिएन पक्की सडक, पहिलो पटक पीच बाटो शिलान्यास

पोखरा महानगरकै वडामा थिएन पक्की सडक, पहिलो पटक पीच बाटो शिलान्यास

Trulli
ADVERTISEMENT

पोखरा - पोखरा भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका हो । विकासका हिसाबले पनि पोखरालाई अगाडि नै मानिन्छ । तर, यही महानगरमा पीच सडक नपुगेको वडा पनि छ भन्दा अनौठो लाग्न सक्छ । 

 

पोखरा महानगरपालिकाको २३ नम्बर वडामा हालसम्म पीच सडकले छोएकै छैन । फेवातालको सिरानमा रहेको यस वडामा पहिलो पटक सडक पीचको योजना शिलान्यास गरिएको छ । 

 

प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरा– २३ को वाम्दीबाट मार्कीसम्मको ३०० मिटर सडक पक्की बनाउन लागिएको हो । उक्त बाटो निर्माणका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । दुई महिनाभित्रै उक्त सडक पक्की बनाइ सक्ने ठेकेदार कम्पनीले जनाएको छ । 

 

बाटो निर्माणको शिलान्यास प्रदेश सांसद राजीव पहारीले गरेका हुन् । बाटो शिलान्यासपछि पहारीले भने, ‘भर्जिन वडामा पीच बाटो बन्न सुरु भयो । अब यो निरन्तर चल्छ ।’ उनले फेवाताल तटीय क्षेत्रको विकासपछि मात्र ताल संरक्षण हुने भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

 

पहिले ढुंगा, माटो बगेर ताल भरिने भन्दै सडक खन्न प्रतिबन्ध लगाइएको थियो । अहिले एक अध्ययनका अनुसार फेवातालको ११० वर्गकिलोमिटर पानीढलोभित्र ३३० किलोमिटरभन्दा बढी कच्ची सडक विस्तार भइसकेको छ ।

 

एउटै गाउँमा धेरैतिरबाट सडक पुगे पनि त्यसलाई रोक्न स्थानीय सरकारले कुनै पहल थालेको छैन । निरन्तर पहिरो खस्ने समस्याले तालको आयु घट्दै गएको छ । 

 

पोखरामा अझै पनि धेरै वडाहरूमा स्तरीय सडक पुगेको छैन । कतिपय वडाको छेउमा पक्की सडक पुगे पनि त्यसबाट नागरिकले लाभ लिन सकेका छैनन् । पीच सडकले वडा छोए पनि स्तरीय सडक थोरै मात्र छन् ।