close

अन्नपूर्णकाे फलातेमा बन्यो बिउ संकलन केन्द्र

अन्नपूर्णकाे फलातेमा बन्यो बिउ संकलन केन्द्र

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बिउ संकलन र भण्डारण भवन निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । १ कोठे सभाहलसहितको भवनमा फलातेका कृषकले उत्पादन गरेको रायो सागको बिउ संकलन र भण्डारण गरिएको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताए । 


‘घरघरमै गएर बिउ संकलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको छ,’ उनले भने, ‘कृषकले उत्पादन गरेको बिउ संकलन र भण्डारण गर्छौं । यहीबाट गाडीमा राखेर बजार पठाउने व्यवस्था मिलाएका छौं ।’ 


कार्यवाहक वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष ०७६/७८ मा ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । कृषकहरूले थप ५ लाख रुपैयाँ बढीको श्रमदान गरेका छन् । 


गाउँपालिका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधाबापतको रकम संकलन गरेर बनाएको कोषबाट ५० हजार रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकाबाट कन्टिन्जेन्सी र कर काटेर ८ लाख ८१ हजार ५ सय ४६ रुपैयाँ अनुदान प्राप्त भएको उपभोक्ता समितिले जनाएको छ ।  


५७ घरधुरीले १३ दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष खमबहादुर पुर्जाले बताए । स्थानीय स्तरमा उपलब्ध ढुंगा, माटो र काठको प्रयोग गरेर भवन बनाइएको छ । सिमेन्टको मसलाको विकल्पमा माटोको मसला बनाएर आयातीत सामग्रीलाई निरुत्साहित र ढुवानी खर्च बचाएर स्थानीय स्रोत–साधनको प्रयोगबाट भवन बनेको हो । 


कोल्ड स्टोरसमेत बनाउन सकिने यो भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिए । कृषकले बिउ, तरकारी र आलु संकलन तथा भण्डारणका अतिरिक्त सीपमूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सक्नेछन् । 


फलाते कोल्ड स्टोर नामकरण गरिएको यो योजनालाई गाउँपालिकाले जनसहभागिताका हिसाबले नमुना र प्रभावकारी आयोजनाको रुपमा लिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले बताए ।


आलु खेतीको सम्भावना भएका फलातेका साथै चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका कृषकले व्यावसायिक रूपमा मार्फा रायो जातको सागको बिउ उत्पादन गर्छन् । यस वर्ष प्रतिकिलो ८ सय रुपैयाँका दरले २६ क्विन्टल रायो सागको बिउ फलातेबाट निकासी भएको थियो । 


ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा हुने, बजारमा भनेको मूल्य पाउने भएकाले रायो सागको बिउ उत्पादनमा कृषकको आकर्षण बढेको छ ।


एउटा घरले २० केजीदेखि १ सय केजीसम्म बिउ उत्पादन गर्छन् । गत वर्षसम्म पोखरा र चितवनका व्यापारीले गाउँमै आएर बिउ खरिद गरेर लगे पनि यसपालि कोरोनाका कारण बजार अभाव भोग्नु परेको किसानको गुनासो छ । 


तत्कालीन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले अनुकूल हावापानी, वातावरण र भूगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बिउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो । कोदो, आलु, मकैको विकल्पमा साग खेती गरेका छन् । 

 

२ हजार मिटर उचाइको भूगोल मार्फा रायो सागको बिउ उत्पादनका लागि अनुकूल मानिएको छ । भदौमा बिउ, असोजमा बिरुवा रोपेपछि असारमा बिउ उत्पादन गर्न सकिन्छ । 


ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागवानी विकास केन्द्रले विकास गरेको हो । बिउ भण्डारण गर्ने मेटलबिन, सुकाउने त्रिपाल र बाली बिमाको सुविधा आवश्यक रहेको कृषक बताउँछन् ।