close

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो

अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत् आयोजनाको पूर्वाधार तयार 

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो

अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत् आयोजनाको पूर्वाधार तयार 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको घोषणा गरेको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ ।


प्रसारण लाइन निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लाइनलाई मंगलबारबाट ३३ केभीमा सञ्चालन (चार्ज) गरिनेछ । 


‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिनेछ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ ।’

 

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोसी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइनेछ ।


तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजना बर्खाको समय पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाको जडित क्षमता करिब ३३ मेगावाट छ ।


संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको वसन्तपुरमा गरी ३ वटा सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए ।


‘निर्माण चरणमा विभिन्न अवरोध छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौँ’, उनले भने, ‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिटो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ ।’


नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश १ को भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो ।


प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।


करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत ३ करोड ७५ लाख डलर छ ।


दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सब–स्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।


तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्य छ ।