close

कर्णाली राजमार्गको दुर्दशा: हिउँदमा धुलाम्मे, बर्खामा हिलाम्मे

कर्णाली राजमार्गको दुर्दशा: हिउँदमा धुलाम्मे, बर्खामा हिलाम्मे

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । सुर्खेतबाट दैलेख, कालीकोट हुँदै कर्णाली नदी किनारै किनार भएर जुम्ला पुग्ने कर्णाली राजमार्गको लम्बाइ २३२ किलोमिटर छ ।

 

बर्खाको समय हिलाम्मे र हिउँदमा धुलाम्मेका कारण यात्रुले सधैँजसो समस्या भोग्दै आएका छन् । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको छ । 


सडक खाल्डाखुल्डी हुँदा बर्सेनि दुर्घटनाको संख्या बढ्दै गए पनि सरोकारवाला निकायले मर्मतमा चासो नदिएको यात्रुको गुनासो छ । सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । ठाउँ–ठाउँमा सडक हिलाम्मे बनेको छ भने कयौँ स्थानमा भासिएको छ ।


राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । ‘बनेका काम पनि गुणस्तरहीन हुँदा सडक जीर्ण बनेको हो’, दैलेखका पदम थापाले भने । निमार्णका लागि वर्षकै बजेट आए पनि टालटुलमै सकिन्छ । राजमार्ग दुर्दशा कहिल्यै नहट्ने स्थानीय बताउँछन् । 


‘बाटो साघुँरो भएका कारण यो राजमार्गमा यात्रा गर्नेको मुटु नझस्किने सायद कमैको होला’, कोहलपुरबाट दैलेख जाँदै गरेका वीरेन्द्र चौधरीले भने, ‘यात्रा गर्दा पनि घर पुग्छु भन्ने विश्वास लाग्दैन ।’


कर्णाली राजमार्गबारे अरूले कुरा गरेको सुने पनि आफैंले भोग्दा डर लागेको चौधरीले बताए । ‘पहिले कर्णाली राजमार्गको नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो,’ चौधरीले भने, ‘प्रत्यक्ष आफैंले यात्रा गर्दा त ज्यानै जाला भन्ने डर लाग्यो ।’


पछिल्लो समय सडकको बीच–बीचमा खाल्डाखुल्डी, हिलाम्मे धुलाम्मेले गर्दा यात्रुलाई मुस्किल हुने गरेको दैलेख ठाटीकाँधका फोर्स चालक जीवन थापा बताउँछन् ।


‘कर्णाली राजमार्गमा चल्ने गाडी साघुँरो सडकका कारण बर्सेनि दुर्घटनामा परिरहन्छन्,’ थापाले भने, ‘दुर्घटनाको जोखिम कम गर्न सडक फराकिलो बनाउन सरकारको ध्यान जान जरुरी छ ।’

 

कर्णाली राजमार्गम फोर्स गाडी चलाउन थालेको ३ वर्ष भए पनि ढुक्कसँग घर पुग्छु भन्ने विश्वास नलाग्ने दैलेखका शंकर शाहीले सुनाए । कर्णाली राजमार्गअन्तर्गत बोट खोला पुल क्षेत्रमा खसिरहेको पहिरोले पुललाई क्षति पु¥याउन थालिसकेको छ । 


कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक नेत्र चुदाराले बताए । कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको उनको अनुभव छ ।

 

‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ । नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन्’, बुढाले भने, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो थाहा छैन ।’  ट्रयाक खुलेको डेढ दशक पुग्दा पनि सडकको अवस्था सुधार हुन नसकेको चाुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ३ का हिमाल शाहीले बताए । 


राजमार्गअन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । बोट खोला क्षेत्रमा यात्रुले सास्ती बेहोर्नुपरेको छ भने दुर्घटनाको उच्च जोखिम छ ।


पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुलको दाँया–बाँया क्षति पुर्‍याउन थालिसकेको छ । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन । 


कर्णाली राजमार्गका लागि प्रदेशबाट कुनै कार्यक्रम नरहेको र यो संघीय सरकारले हेर्ने भएकाले यस विषयमा कुनै जानकारी नभएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।