close

तुम्कोटमा खानेपानी समस्या: नदीको धमिलो पानी पिउन बाध्य छन् नागरिक

तुम्कोटमा खानेपानी समस्या: नदीको धमिलो पानी पिउन बाध्य छन् नागरिक

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को तुम्कोटगाउँका स्थानीय एक घन्टा पैदल हिँडेर नदीको धमिलो पानी खान बाध्य छन् । गत २० साउनमा आएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि स्थानीयले पानीका लागि सास्ती बेहोर्नुपरेको हो ।

 

तुम्कोटका स्थानीय थुप्देन ग्यान्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाईन बगाएर लगेपछि गाउँबाट एक घन्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको बताए ।


घरआँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने हुने गरेको छ । सिंगो खानेपानीको योजनालाई बाढीले क्षति पुर्‍याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएका छन् । 


बिहान सबेरै तुम्कोटका स्थानीय लाइन लागेर खानेपानी ओसार्नु दैनिकी बनेको छ । तुम्कोटका २५ घरधुरीका स्थानीय खानेपानीबाट प्रभावित भएका छन् । तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजनालाई बाढीपहिरोले बगाएर लगेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो ।

 

खानेपानी आयोजनाको पूरै संरचना भत्किएको छ । गाउँमा निर्माण भएका ६ वटा सार्वजनिक स्थानका धारामा पानी आउन छाडेको महिनौँ भएको छ । मुहान बाढीले बगाएर लगेपछि गाउँमा भएका धारामा पानी नआउँदा एक घन्टा हिँडेर नदीको पानी पिउन बाध्य हुनुपरेको स्थानीयको गुनासो छ ।