close

कालो धानको खेतीमा जमेका पालिका अध्यक्ष 

कालो धानको खेतीमा जमेका पालिका अध्यक्ष 

Trulli
ADVERTISEMENT

अछाम- अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदले व्यावसायिक रूपमा कालो धान जी-६० ब्ल्याक राइस खेतीको सुरु गरेका छन् । सुरुमा कालो धानलाई देखेर रहरले यसको खेती सुरु गरेका अध्यक्ष साउदले अहिले भने व्यावसायिक रूपमै लागेका हुन् ।


पाँच वर्षअघि परीक्षणका लागि लगाइएको कालो धानबाट राम्रो आम्दानी हुने देखेपछि अध्यक्ष साउदले यसलाई व्यावसायिक रूपमा अगाडि बढाएर आम्दानी लिन थालेका छन् । उनले परीक्षणका रूपमा एक रोपनीमा कालो धान लगाएका थिए । दुई वर्षसम्म परीक्षणका लागि मात्रै कालो धान रोपेको उनी बताउँछन् ।


‘कालो धानको चामल माग बढ्न थालेपछि तीन वर्षदेखि व्यावसायिक रूपमा यसको खेती सुरु गरेको हुँ । यसलाई व्यावसायिक रूपमै अगाडि बढाउन तेस्रो वर्ष २० रोपनीमा कालो धान लगाएको हुँ,’ गाउँपालिका अध्यक्ष साउदले भने । ।


तेस्रो वर्षमा कालो धानको उत्पादन २० क्विन्टल बढी भएको उनले सुनाए । ‘गत वर्ष रामारोशनमा आएको बाढीका कारण करिब १० रोपनी जग्गा बाढीले बगायो’, उनले भने, ‘अहिले १० रोपनीमा कालो धानको लगाएको छु । बहुगुणकारी यो धान आर्थिक दृष्टिकोणले पनि लाभदायक छ । बेर्ना सारेको ९० दिन भित्र यो धान पाकिसक्छ ।’


कालो धानलाई प्रतिकिलो ८ सयदेखि १ हजार रुपैयाँसम्म पर्ने गरेकाले बढी आम्दानी भएको गाउँपालिका अध्यक्ष साउद बताउँछन् । खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिनापानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिन्छ ।


कालो धानको चामलको माग सहरी क्षेत्रका होटलमा बढ्दो रहेको उनले जानकारी दिए । ‘कालो धानको माग स्वदेशमा मात्रै नभई विदेशमा पनि उत्तिकै छ’, उनले भने, ‘कालो धान अमेरिकादेखि भारतमा समेत निर्यात भएको छ ।’ बजारको मागबमोजिम कालो धान उत्पादन गर्न नसकिएको उनले बताए । सबैभन्दा बढी भारतका विभिन्न होटलमा कालो धानको माग बढ्दो छ ।


स्वेदशमा होटलदेखि नेपाली सेना, प्रहरी प्रशासनबाट कालो धानको माग हुने गरेको उनको भनाइ छ । रामरारोशन क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कालो धान किन्ने गरेको उनले सुनाए ।


कालो धानलाई पर्यटन क्षेत्रसँग जोड्ने योजना गाउँपालिका अध्यक्ष साउदको छ । ‘नेपालमा यो धानले प्रवेश गरेको १२/१५ वर्ष मात्र भएको छ । कालो धान नेपालको जमिनमा प्रवेश नभएका कारण यसबारे जानकारी लिन आन्तरिक तथा बाह्य पर्यटक रामारोशन आउने गरेका छन् । गाउँपालिकामा अन्य कृषकले पनि व्यावसायिक रूपमा कालो धानको खेती सुरु गर्न थालेका छन्’, साउदले भने ।


कालो धान आर्थिक दृष्टिकोणले मात्रै नभई स्वास्थ्यका हिसाबले समेत महत्त्वपूर्ण मानिने गरेको छ । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।


एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाए रक्तअल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्च रक्तचाप, मुटु रोग, अल्जाइमर्सबाट बच्न सकिने डा. विकास गौचनले बताए । दुई घन्टा भिजाएर मात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रूपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने उनको भनाइ छ ।