close

६ महिनादेखि बिस्तारामा थलिएकी गुरुङकाे अस्पतालसम्मकाे यात्रा...

वडाध्यक्ष मनराजले पुर्‍याए अस्पताल

६ महिनादेखि बिस्तारामा थलिएकी गुरुङकाे अस्पतालसम्मकाे यात्रा...

वडाध्यक्ष मनराजले पुर्‍याए अस्पताल

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ फिरफिरे घरेडीकी शिरमती गुरुङ ६ महिनादेखि बिस्तारामा थलिएकी छन् । ५७ वर्षीया गुरुङले आफ्नै हरको कपडामा आगो सल्किएको चेत पाइनन् । शरीर पोल्न थालेपछि बल्ल महसुस भयो, उनलाई । जब छालामा पोल्न थाल्यो, उनी अत्तालिइन्, हारगुहार गरिन् । श्रीमान् र छोरा घरमा थिएनन् ।


छिमेकीले आएर उनको शरीरमा लागेको आगो निभाए, कपडा खोलिदिए । पूरै शरीर जल्नबाट जोगाए । तर, कम्मरमुनिको भाग भने नराम्ररी जलिसकेको थियो । त्यसपछि उनका श्रीमान् यामबहादुरले उपचारका लागि पोखरा रानीपौवाको मेडिप्लस हस्पिटल पुर्‍याए । यो घटना २३ माघ २०७७ को हो । 


यामबहादुरले शिरमतीको मेडिप्लसमा १४ दिन उपचार गराए । ऋणधन गरेर उपचारमा २ लाख रुपैयाँ सकाए । तर, पैसा सकिएपछि घाउ निको नहुँदै घर फिर्ता ल्याउनुपर्‍यो । आगोले पोलेको घाउ निको नहँदै घर ल्याउनुपर्ने उनको बाध्यता थियो ।  शरीरको घाउ निको भएन, झन् मनमा पनि घाउ थपियो । ‘ऋण खोजेको २ लाख रुपैयाँ पनि सकियो । पैसा नभएपछि निको नहुँदै घर ल्याउनुपर्‍यो’, उनले थपे, ‘अरू पैसा जुटाउन सक्ने अवस्था थिएन । मेरो केही उपाय लागेन ।’ 


घरमा ल्याएपछि ६ महिनासम्म शिरमतीको आगोले पोलेको घाउ निको भएको छैन । कम्मरमुनिको भाग पनि चल्न छाड्यो । बिस्तारमै थला परिन् । तर, उपचार गर्न अस्पतालसम्म पुर्‍याउन सघाउने कोही भएन । आर्थिक अवस्था कमजोर भएका उनले फेरि कसैसित हारगुहार गर्न सकेनन् । ‘सबैले अवस्था देखेकै थिए । कोसँग हारगुहार गर्ने’, भावुक हुँदै उनले भने ।

 

बुधबार घरेडी टोल विकास संस्थाको भेलामा पुगेका वडाध्यक्ष मनराज गुरुङले उनको दयनीय अवस्था देखे । साँझ फेसबुकमा उपचारका लागि सहयोगको अपिल गरे । बिहीबार बिहानै वडाध्यक्ष गुरुङले थला परेकी शिरमतीको उपचार गराउन पोखराको हरियोखर्क अस्पताल पुर्‍याएका छन् । अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया सुरु भएको वडाध्यक्ष मनराज गुरुङले बताए । 


‘फेसबुकमा सहयोगको अपिल गरेपछि आर्थिक सहयोगको प्रतिबद्धता आउँदै थियो । प्रतिबद्धता भए पनि पैसा आएको अवस्था थिएन । तर, उपचारमा ढिलाइ होला भन्ने सोचेर अस्पताल ल्याइहाल्यौँ’, उनले भने ।

 

अस्पतालमा भर्ना गरेपछि २० हजार रुपैयाँ डिपोजिट शुल्क र औषधी खरिदसँगै खान-बस्न बिरामीका श्रीमान् यामबहादुरलाई १० हजार उपलब्ध गराएको वडाध्यक्ष गुरुङले जनाकारी दिए । हालसम्म गुरुङको उपचारका लागि १२ हजार १ सय ५५ रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए । 


६ महिनासम्म थला परेकी श्रीमतीलाई उपचारका लागि अस्पताल भर्ना गराएपछि निको हुने आश पलाएको यामबहादुरले बताए । ‘अस्पताल ल्याएपछि धेरै आश पलाएको छ । अब हातखुट्टा चलेर आफैँ उभिन सक्छ कि भन्ने छ’, टेलिफोन कुराकानीमा उनले भने ।