close

६७.३४ प्रतिशत नेपाली बैंकको पहुँचमा

मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै

६७.३४ प्रतिशत नेपाली बैंकको पहुँचमा

मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्र बैंकले ६७.३४ प्रतिशत नेपालीको पहुँचमा बैंकिङ सेवाको पहुँच पुगेको बताएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।


क, ख र ग वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणका आधारमा प्रतिवेदन तयार गरेको बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाको शाखा संख्या ०७८ चैत मसान्तमा ५,९७८ पुगेको बताएको छ । ७५३ स्थानीय तहमध्ये हालसम्म ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको र सोमार्फत बैंकको निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ पुगेको बैंकले जनाएको छ ।


२०७७ जेठ मसान्तमा ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको २ करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका छन् । तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको बैंकले जनाएको छ ।

 

२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् । 


प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेको प्रतिवेदनमा उल्लेख छ । महानगरमा प्रतिहजार व्यक्ति ३,२९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेका छन् ।


कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन् । पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ । 


व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (१५ वर्षभन्दा माथि) को रहेको छ । प्रति १ लाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश २ मा ९.७३ प्रतिशत रहेको छ ।


ग्रामीण क्षेत्रमा प्रति १ लाख जनसंख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

 

मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै

राष्ट्र बैंकका अनुसार पछिल्लो समय नागरिकमा बैंकको पहुँच बढेसँगै डिजिटल प्रयोगमा समेत आकर्षण बढेको छ । सोअनुसार प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटिएम प्रयोगकर्ताको संख्या बढेर २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रदेशगत यस्तो प्रयोग प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा प्रतिखाता एटीएम प्रयोगकर्ता १४.५० प्रतिशत मात्र रहेको विवरणमा उल्लेख छ ।

 

यस्तै, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।


प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 
तर, युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधि माग र प्रयोग दिनानुदिन बढ्दै जाने देखिएको बैंकले बताएको छ ।