close

चार दशकलाई निजी कम्पनीको गोजीमा पुगे पोखराका सम्पदा

चार दशकलाई निजी कम्पनीको गोजीमा पुगे पोखराका सम्पदा

Trulli
ADVERTISEMENT

कास्की– गत जेठमा फेवाताल सिरानमा रहेका सिल्ट्रेसन ड्यामबाट गिटी, बालुवा निकाल्न पोखरा महानगरले २४ वर्षका लागि निजी कम्पनीको जिम्मा लगाएको छ । सस्तो शुल्कमा यति लामो समय ठेक्का दिएपछि स्थानीयले विरोध गरे पनि सुनुवाइ भएन ।

 

महानगरले उल्टै ४० वर्षका लागि थप दुई सम्पदा निजी कम्पनीलाई दियो । सेती खोंच र पाताले छाँगोमा पर्यटकीय पूर्वाधार बनाउन सेती क्यानोनसँग साउन दोस्रो साता सम्झौता गरिएको हो ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निजी क्षेत्रलाई आकर्षित गर्न नसके महानगरको विकास पछि पर्ने बताए । ‘नेपालको आर्थिक विकासका लागि सरकारको लगानीले पुगेन । निजी क्षेत्रको लगानी ल्याउनुपर्छ भन्छौँ । उसले जहाँ बिजनेसको अपरचुनिटी देख्छ, त्यही आउने हो । हामीले स्वागतै गर्नुपर्छ’, उनी भन्छन्, ‘नत्र हामी राज्यको स्रोतमा मात्रै निर्भर हुन्छौँ । हाम्रो विकास निर्माण धेरै पछि पर्छ । विकासले गति लिँदैन ।’ 

 

बरालले सम्झौता गरिएका आयोजनामा भने डिपिआर र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा सही÷गलत भन्न सकिने बताए । ‘कुनै प्रोजेक्टसहित भन्नेमा छ । डिटेलमा पुगेर छलफल गर्नुपर्छ । १७२ जनाको सभा बसेर ऐन बनाइएको छ’, उनले थपे, ‘नगरको अहित हुने र अर्को पक्षको हित हुने छिद्र छाडेका छैनौँ । यसले पोखराको विकासमा योगदान पुग्छ ।’

 

चौतर्फी विरोध हुँदाहुँदै पोखराका महत्त्वपूर्ण सम्पदा सार्वजनिक÷निजी साझेदारी कार्यक्रमअन्तर्गत लामो समयसम्म ठेक्का दिने निर्णय पोखरा महानगरले गरेको छ । भूगोलको जोखिम, प्राकृतिक सम्पदामाथि हुने अन्यायलाई ख्यालै नगरी ठेक्का सम्झौता गरिएकामा विरोध पनि नियमित भइरहेको छ ।

 

यसअघिका रिपोर्टमा पोखराको सेतीनदी क्षेत्र र पाताले छाँगो वरपर भौगोलिक जोखिम बढी छ । सेती र पाताले छाँगो नजिक संरचना बनाउनसमेत बन्देज लगाइएको छ । 

 


सामान्य संरचना बनाउँदा पनि जोखिम हुने क्षेत्रमा ठूला संरचना निर्माण गर्दा सुरक्षित नहुने विज्ञहरू बताउँछन् । सन् १९९८ को प्रतिवेदनले पोखरामा सेती नदीको नदीपुरदेखि रातो पैहिरोसम्मको ठाउँलाई रेड जोनमा पारेको थियो ।

 

महानगरले गाईघाटदेखि दोबिल्लासम्मको साढे ८ किलोमिटर क्षेत्र र पाताले छाँगोदेखि फेवा ड्यामसम्मको डेढ किलोमिटर क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता गरेको हो । भूगोल क्षेत्रका विज्ञ इन्जिनियर नारायण गुरुङले प्राकृतिक संरचनालाई जोखिम पार्ने गरी आम्दानीमा मात्रै ध्यान नदिन सुझाए ।

 

‘प्राकृतिक सम्पदा दिन हुने र नहुने सरकारको कुरा हो । रामघाटमा ड्याम बनाएर सेती थुनिँदै छ । यसले अर्को डिजास्टर ल्याउँछ’, उनले भने, ‘त्योचाहिँ अधिक खतरनाक हो । यसले आफ्नो खुट्टामा आफंैले बन्चरो हानेजस्तो हुन सक्छ । इन्जिनियरिङ हिसाबले पनि खतरापूर्ण छ । ताल बनाउँदा जलाशय हुन्छ । माथि आएर बजारमा पानी छिर्छ ।’

 

पोखराको अर्थतन्त्र सोचेजति मजबुत छैन । पर्यटकीय राजधानी यहाँ पर्यटक भुल्ने मानव निर्मित संरचना बन्न सकेका छैनन् । एकातिर निजी क्षेत्र आकर्षित हुने वातावरण अझै बन्न सकेको छैन भने अर्कोतर्फ यसबारे सरकारको स्पष्ट नीति पनि छैन । 

 

अहिले सम्झौता भएबाहेक पोखरा महानगरले रामघाट र मरेखहरे क्षेत्र पनि ठेक्कामा लगाउँदै छ । प्रदेश र संघ सरकारबाट स्वीकृति पाए आयोजना कार्यान्वयनमा अघि बढ्छ । 

 

सेती खोंचमा क्यान्टिलिभर पुल, रेस्टुराँ, बालउद्यानलगायत विभिन्न संरचना बन्नेछ भने पाताले छाँगोमा सिसा पुल राख्ने योजना छ । त्यसमाथि फेवातालसम्म क्रुज चलाउने प्रस्ताव गरिएको छ ।

 

रामघाट र मरेखहरेबाट ड्याम बनाएर गिटी, बालुवा निकाल्ने बताइएको छ । अहिले सम्झौता भएका योजना पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण भएको ठेकेदार कम्पनी सेती क्यानोनका अध्यक्ष कर्केनकुमार गुरुङको भनाइ छ ।

 

‘पोखरा रमाइलो छ तर एक दिनका लागि छ । दायाँ–बायाँ घुम्ने ठाउँ छैन । होटल रेस्टुराँमा मात्रै होइन, अरू आयोजनामा पनि लगानी गर्नुपर्छ’, गुरुङले भने, ‘यो आयोजनाले कम्तीमा २ दिन पर्यटक भुल्छन् । मेरो प्रोजेक्ट सफल भयो भने अरू पनि लगानी गर्न आउँछन् । लगानीमा प्रोत्साहन नगर्ने हो भने आउँदो ५० वर्षमा पनि पोखरा यस्तै हुन्छ । अब रिस्क लिनुपर्छ ।’

 

संरक्षणकर्मी पोखराको भूगोल १२ सय वर्ष मात्रै पुरानो भएकाले कमजोर रूपमा लिन्छन् । वातावरणीय प्रभाव र डिपिआरबिना आयोजना सम्झौता गरिएको भन्दै उच्च अदालतमा मुद्दा नै परेको छ । 

 

अदालतले सम्झौता कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ भने अन्तिम फैसला आउन बाँकी छ । जोखिम भनेर पहिचान भएका क्षेत्र पैसाका लागि मात्रै ठेक्का दिँदा जटिल अवस्थाको सामना गर्नुपर्ने भएकाले तत्काल रोक्नुपर्ने रिट निवेदक अधिवक्ता सविन तिवारीले बताए ।

 

‘सरकार सार्वजनिक सम्पत्तिको मालिक होइन । संरक्षण गरिदिने, अहिलेको पुस्ताले विवेकपूर्ण प्रयोग गर्ने, उपयोगिताको लाभ लिने र यही लाभ अर्को पुस्तालाई पनि दिने’, उनी भन्छन्, ‘सबै कुरालाई नजरअन्दाज गरेर सीमित कम्पनीको मात्रै एकाधिकार स्थापित हुने गरी गर्ने कार्य अनुपयुक्त हो । संघ सरकार, संविधान र वातावरण न्यायले परिकल्पना नगरेको ऐन बनाएर सम्पदा दशकौँसम्म दिने कुरा अनुपयुक्त हो ।’

 

सेती खोंचमा पूर्वाधार बनाउन डेढ अर्ब लगानी गर्ने योजना छ भने पातले छाँगोमा ५० करोड रुपैयाँ बढी लगानी हुनेछ । सम्झौताअनुसार २ वर्षभित्र डिपिआर बनाउने र त्यसपछिको पाँच वर्षमा पूर्वाधार निर्माण गरिसक्ने योजना छ । 

 

पोखरा महानगरपालिकाले यसका लागि आफ्नै ऐन बनाएको छ । लामो समयसम्म संवेदनशील सम्पदा ठेक्का दिँदा सन्ततिलाई असर पर्ने भन्दै संरक्षणकर्मी र राजनीतिक दलहरूले निरन्तर विरोध गरिरहेका छन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरु गरेको छ ।