close

स्थानीय तहसँगको सहकार्यमा ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्दै प्राधिकरण

स्थानीय तहसँगको सहकार्यमा ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्दै प्राधिकरण

Trulli
ADVERTISEMENT

काठमाडौ- नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ ।  

 

सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो सहर अभियान’लाई तीव्रता दिने भएको हो । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ । 

 

 

यस्तो योजना कार्यान्वयनमा आएपछि सहरको सौन्दर्य अभिवृद्धि  हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

 

 

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौँ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गर्ने प्राधिकरणको योजना छ । 

 

 

‘सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ । यसले सौन्दर्यको वृद्धि एवम् सफा सहर पनि बन्नेछ’, घिसिङले भने, ‘हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हट्दा दुर्घटनाको जोखिम पनि कम हुने र सहरी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरमा विस्तार गरिनेछ ।’

 

 

प्राधिकरणले अहिले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौँका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढनेछ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केवल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । 

 

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो 

 

प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत स्थानहरू र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान गर्न अभियान नै चलाउने भएको छ । ललितपुर महानगरपालिकाको सक्रिय सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेलधुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेको छ । 

 

 

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडानको काम जारी छ । काठमाडौँ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा छ ।  

 

 

उज्यालो सहर अभियानअन्तर्गत काठमाडौँको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलङ्की सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्ती हटाएर स्मार्ट लाइट जडान प्रक्रिया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले जाकारी दिए । 

 

 

हाल देशभरबाट थप माग आएको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौँडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौँको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुरलगायत नगरपालिकाहरू रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकासँग प्रस्ताव माग गरेको छ । 

 

 

नगरपालिकाहरुको ६० र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुनेछन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिकाले आफैँ शत्प्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

 

 

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिनेछन् ।