close

सहमतिमै टुंगिए कावासोतीको न्यायिक समितिका अधिकांश मुद्दा 

सहमतिमै टुंगिए कावासोतीको न्यायिक समितिका अधिकांश मुद्दा 

Trulli
ADVERTISEMENT

नवलपुर– नवलपुरको कावासोती नगरपालिकाको न्यायिक समितिले अधिकांश मुद्दा सहमतिमै टुंग्याएको छ । न्यायिक समिति संयोजक धनीमाया अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा न्यायिक समिति कावासोतीमा १९४ वटा मुद्दा परेकामा १२७ वटा सहमतिमै टुंगिएका हुन् ।

 

फस्र्योट हुन बाँकी ६७ मुद्दा पनि सहमतिकै प्रक्रियामा रहेको अधिकारीले बताइन् । न्यायिक समितिमा गत आर्थिक वर्षमा परेका मुद्दामध्ये सबैभन्दा बढी जग्गा विवादका छन् ।

 

न्यायिक समिति कावासोतीका अनुसार जग्गा विवादमा ५५, साँध सिमाना विवादमा ३९ र बाटो विवादका १५ वटा मुद्दा दर्ता भएका थिए । 

 

त्यस्तैगरी पारिवारिक विवाद ३९, लेनदेन विवाद २३, घर निर्माण विवाद ६, गालीगलौज ७, पारिश्रमिक विवाद ७, पालनपोषण विवाद ३ र घरभाडा विवाद एउटा मुद्दा दर्ता भएको अधिकारीले बताइन् । न्यायिक समितिमा परेका मुद्दा तथा उजुरी दुवै पक्षको सहमतिमा टुंगाइने गरेको छ ।

 

स्थानीय तह गठन भएसँगै अदालतमा मुद्दाको चाप घटाउन र आपसी छलफलमा टुंग्याउन सकिने विवादलाई स्थानीय तहमै समाधान गर्ने गरी सरकारले देशभरका पालिकामा नगर उपप्रमुख वा गाउँपालिका उपाध्यक्ष संयोजक रहने गरी न्यायिक समिति निर्माण गरिने प्रावधान ल्याएको हो ।

 

देवचुलीमा साँध सिमानाको मुद्दा बढी

 
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको न्यायिक समितिमा साँध–सिमानाको मुद्दा बढी आएका छन् । देवचुली नगरपालिकाको न्यायिक समिति संयोजक पार्वता तिवारीका अनुसार २०७७/७८ मा ६५ मुद्दामध्ये ४३ वटा साँध सिमानाका मुद्दा छन् ।

 

त्यसैगरी लेनदेन विवाद ६, जग्गा रोक्का ६, पालनपोषण २, घर भाडा विवाद २ र पारिश्रमिक विवादसम्बन्धी एउटा वटा मुद्दा परेको तिवारीले जानकारी दिइन् । 

 

गत वर्ष परेका ६५ मध्ये ४५ वटामा सहमति भएको छ भने १८ वटा मुद्दा प्रक्रिया रहेको र २ वटा मुद्दा अदालत पठाएको तिवारीले बताइन् ।

 

नगरपालिका तथा गाँउपालिकामा संविधानको धारा २१७ बमोजिम एक न्यायिक समिति हुनुपर्ने प्रवाधान अनुसार हरेक स्थानीय तहमा न्यायिक समिति रहेको छ ।