close

डेढ महिनापछि जिल्ला फर्किए दुई पालिका 

डेढ महिनापछि जिल्ला फर्किए दुई पालिका 

Trulli
ADVERTISEMENT

कास्की–बाढीले विस्थापित मनाङको नासों गाउँपालिका डेढ महिनापछि जिल्ला फर्किएको छ । १४ जेठ र १ असारको बाढीले बैंक र प्रहरी कार्यालयसहित गाउँपालिका भवन बगाएको थियो ।

 

पालिकाको कागजपत्रसमेत मस्र्याङ्दी नदीमा मिसिएपछि असार दोस्रो साता लमजुङ बेँसीसहरमा अस्थायी कार्यालय सन्चालन गरिएको थियो ।

 

करिब २ महिना लमजुङबाट काम चलाएपछि अहिले धारापानीमै भाडाको घर खोजेर कार्यालय सारिएको पालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । 

 

‘१ भदौदेखि लमजुङमा भाडा नतिर्ने गरी सरेका छौँ । अहिले माथि पनि कसैको घर छैन । सम्भावित ठाउँ खोजिरहेका छौँ’, उनले भने, ‘एक–दुई वटा घरमा कुरा भएको छ । सम्भवतः त्यहीँ बस्ने होला ।’ पालिका सरे पनि कार्यालय भने अझै स्थापना गर्न नसकिएको उनले सुनाए ।

 

आर्थिक वर्ष अन्त्यमा योजना र कार्यक्रमको बजेट निकासा दिनुपर्ने भएकाले लमजुङमा कार्यालय सारिएको हो । प्रदेश सरकारले त्यहाँका सरकारी कार्यालयमा सोलार जडान गरिदिएको छ । नासोँ बाढीका कारण सबैभन्दा धेरै क्षति भएको पालिका हो । 

 

त्यहाँका पीडितलाई प्रदेशले प्रतिघर २ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । यस्तै, गोरखाको धार्चे गाउँपालिका पनि माछाखोलामै सरेको छ ।

 

बिजुली, बाटो र इन्टरनेट नभएपछि आर्थिक कारोबार गर्न समस्या परेको भन्दै धादिङबाट कार्यालय सन्चालन गरिएको
थियो । अहिले सबै व्यवस्थापन मिलाएर पुरानै ठाउँबाट काम थालिएको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । 

 

उनका अनुसार अहिले बर्खा कम भएकाले बाटोमा हिँड्न केही सहज भएको छ ।