close

पोखराले बनायो पहिलो आवधिक योजना, तीन वर्षमा २५ अर्ब लगानी गर्ने 

पोखराले बनायो पहिलो आवधिक योजना, तीन वर्षमा २५ अर्ब लगानी गर्ने 

Trulli
ADVERTISEMENT

कास्की– २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल करिब सकिने अवस्थामा छ । ४ वर्षभन्दा बढी समय योजनाविहीन विकासमा व्यतीत भयो ।


केही दिनको छलफलबाट पुरानै निरन्तरतामा नीति तथा कार्यक्रम र बजेट ल्याइयो । सोहीअनुसार कार्यान्वयन भयो । कति बजेट खर्च हुनै सकेन । महानगरले लिएका अधिकांश नीति त्यत्तिकै खेर गए । मुस्किलले ७ महिना कार्यकाल बाँकी रहँदा पोखराले पहिलो आवधिक योजना बनाउने तयारी गरेको छ ।

 

नगरको सामाजिक, आर्थिक विकासका लागि आवधिक योजना तयारी गरिएको हो । पोखरालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय सहर बनाउने गरी योजना बनाउन लागिएको नगर योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले बताए । 


अहिले वार्षिक ५ अर्ब रुपैयाँ हाराहारीको बजेट कार्यान्वयन गरिरहेको पोखराले यो योजना लागू भएपछि वार्षिक साढे ८ अर्बको योजना बनाउनेछ ।नगरपालिकाको तीव्र र दिगो विकासका लागि आर्थिक वर्ष २०८०\ ८१ सम्म गर्न सकिने योजना प्रस्ताव गरिएको छ ।


उनका अनुसार संविधानले व्यवस्था गरेका व्यवस्था, संघ र प्रदेश सरकारका वार्षिक तथा आवधिक विकास लक्ष्य, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र दिगो विकास लक्ष्यको अधीनमा रहेर पोखराले आफ्नै योजना बनाउन लागेको हो । ‘समुन्नत पर्यटकीय पोखरा’ लक्ष्यका साथ नयाँ खाका तयार गर्न लागेको उनले सुनाए । 

 

प्रस्तावित त्रिवर्षीय कार्यक्रमलाई ११ भागमा छुट्याएर करिब २६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ । लक्ष्य प्राप्तिका लागि कम्तीमा २५ अर्ब ९३ करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।


यो बजेट महानगरपालिका, संघ र प्रदेश सरकार, नगरबासी, निजी क्षेत्र र गैरसरकारी संस्थाबाट लगानी हुने अनुमान छ । सबैभन्दा धेरै पूर्वाधार क्षेत्रमा लगानी माग गरिएको छ । पूरा बजेटको १५ प्रतिशत पूर्वाधारमा लगानी हुने अनुमान छ ।


३ अर्ब ६६ करोड पूर्वाधारमा, १५ करोड कृषिमा, ४ करोड ५० लाख पशुमा, ८९ लाख सिँचाइ र जलस्रोतमा लगानी हुनुपर्ने आवधिक योजनामा उल्लेख छ । यस्तै, वाणिज्य, आपूर्तिमा २ अर्ब ४७ करोड, स्वास्थ्य तथा पोषणमा ६० करोड २४ लाख, खानेपानी तथा सरसफाइ ८ करोड ८९ लाख, युवा तथा खेलकुद १ करोड ९० लाख, लक्षित समूह २ करोड ३७ लाख, सुशासनमा ५ करोड ५२ लाख, अन्तरसम्बन्धित विषय २५ करोड ७५ लाख र अनुगमन मूल्यांकनमा २ करोड २७ लाख रुपैयाँ लगानी हुनेछ ।


पर्यटनमा ४८ करोड २६ लाख, वन तथा वातावरण ४४ करोड ३७ लाख, भूमि व्यवस्थापन ३२ लाख, जनसंख्या तथा बसाइँसराई २ लाख ५० हजार, शिक्षा, विज्ञान तथा प्रविधिमा ६ करोड ७८ लाख रुपैयाँ लगानी अनुमान छ । 

 

वडाका प्रस्तावित योजना पनि छुट्टाछुट्टै उल्लेख गरिएको उपमेयर मन्जुदेवी गुरुङले बताइन् । वडा तहलाई बढी अधिकारसम्पन्न बनाएर स्रोत उपार्जनसहित लगानी आकर्षण गर्न आवधिक योजनाले बाटो देखाएको छ । 

 

प्रस्तावित योजना अन्तिम चरणमा छ । अहिले महानगरका जनप्रतिनिधि र कर्मचारी तथा विज्ञसहितको टोली मस्यौदामाथि छलफल गरिरहेको छ ।
विज्ञहरू श्रीकान्त खतिवडा, दामोदर गिरी, कृष्ण ज्ञवालीलगायतले मस्यौदा तयार गरेका हुन् ।