close

नमोबुद्धका नगरप्रमुखले मनाए असहायसँग जन्मदिन

नमोबुद्धका नगरप्रमुखले मनाए असहायसँग जन्मदिन

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले असहाय व्यक्तिहरूसँग आफ्नो जन्मदिन मनाएका छन् ।बिहीबार ६५ वर्ष प्रवेश गरेका नगरप्रमुख तिमल्सिनाले धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवाघरमा आश्रित असहाय व्यक्तिलाई खाना खुवाउँदै जन्मदिन मनाएका हुन् ।


नगर प्रमुख तिमल्सिनाले विगतमा पनि सामाजिक कार्य गर्दै जन्मदिन मनाउँदै आएका थिए । यो वर्ष अझ पृथक रूपमा सडकबाट उद्दार गरिएका व्यक्तिसँग जन्मदिन मनाएका तिमल्सिनाले उनीहरूको खाना, खाजालगायत व्यवस्थापन आफ्नो तर्फबाट गरेका थिए ।


सेवाघरमा आश्रित व्यक्तिसँग जन्मदिन मनाउने क्रममा नगरप्रमुख तिमल्सिनाले आफू पदमा रहँदा पनि र नरहँदा पनि दुःखी र असहायको साथमा रहने बताए ।
आगामी दिनमा पनि आफ्नो तर्फबाट सेवाघरमा आश्रित व्यक्तिका लागि साथ र सहयोग निरन्तर रहने तिमल्सिनाले सुनाए ।


‘मेरो बाँकी जिन्दगी समाज र मुलुकका लागि समर्पित गर्नेछु,’ तिमल्सिनाले भने, ‘सडकमा अलपत्र परेका व्यक्तिको उद्दार र उनीहरूको सेवामा मानव कल्याण समाजले गरिरहेको कार्यमा सधैँ हातेमालो हुनेछ ।’


नमोबुद्ध नगरपालिकाले सडक मानवमुक्त नगरको अभियानसहित सेवा घरको सहकार्यमा सडकमा अलपत्र परेका व्यक्तिको उद्दार गर्दै आएको उनले जानकारी दिए । धर्मपत्नी सरस्वती शर्मा र नगरपालिकाका कर्मचारीसहित सेवाघर पुगेका तिमल्सिनाले नगरपालिकाका तर्फबाट पनि सेवाघरलाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । 


नमोबुद्धले मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवमुक्त नगरको अभियान सञ्चालन गरिरहेको छ । नगर प्रमुख तिमल्सिनाले आफ्ना पिताको निधनको ४५औँ दिनको पुण्यतिथिमा पनि समाजलाई खाद्यान्न सहयोग गरेका थिए भने समाजमा आश्रित एक जना बालिकाको अभिभावकत्वसमेत ग्रहण गरेका छन् । उनकै अभिभावकत्वमा ती बालिकाको केही महिनाअघि अन्नप्रासन गरिएको थियो ।


सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरप्रमुख तिमल्सिनाले आफ्नो जन्मदिन सेवाघरमा आश्रित व्यक्तिसँग मनाएर उदाहरणीय कार्य गरेको भन्दै यस्ता सामाजिक कार्यको सबैले अनुशरण गर्नुपर्ने बताए ।


असहाय व्यक्तिको सेवा नै सबैभन्दा ठूलो धर्म र पुण्यको काम भएको पौडेलको भनाइ छ । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनाले मानव कल्याण समाजले चुनौतीपूर्ण रूपमा सडकमा अलपत्र व्यक्तिको उद्दार गरी सेवा गर्दै आएकामा प्रशंसा गरे । 


मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले कुनै पनि विदेशी दाताबिना नेपालीका लागि नेपालीकै सहयोगले सेवा घर सञ्चालनमा आएको बताइन् । धुलिखेलमा रहेको सेवाघरमा ४३ जना आश्रित रहेको बताउँदै उनले नमोबुद्ध र नगरप्रमुखले सेवा घरको अभिभावकत्व ग्रहण गरेर सडक मानवमुक्त मुलुक बनाउने अभियानमा हौसला थपेको सुनाइन् ।


धुलिखेलसहित मुलुकका विभिन्न स्थानमा रहेका सेवाघरमा हाल २५० जना रहेको तथा १ सय ९५ जनाको परिवारसँग पुनर्मिलन गराइसकिएको उनले बताइन् । 

 

मन्दिरलाई सहयोग


नगरप्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनकै अवसरमा पनौती नगरपालिका वडा नम्बर ५ बाँसघारीमा निर्माणाधीन मुक्तिनाथ मन्दिरका लागि आर्थिक सहयोगसमेत गरेका छन् । उनले मन्दिर निर्माणका लागि आफ्नो सेवा सुविधाबापत प्राप्त रकमबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।


तिमल्सिनाले मन्दिर निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा मन्दिर निर्माण समितिका अध्यक्ष थापाले नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाबाट प्राप्त सहयोगले मन्दिर निर्माणमा ठूलो मद्दत पुग्ने बताए । 


नगरप्रमुख तिमल्सिनाले आफ्नो जन्मदिन अवसरमा मेथिनकोट अस्पताल तथा जनक क्याम्पसको आइसोलेसनमा उपचार गराइरहेका बिरामीलाई फलफूलसमेत वितरण गरे । 


सामाजिक क्रियाकलापमा सक्रिय नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकाका जेहेनदार एवं विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरूको शिक्षाका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।