close

कर्णाली प्रदेशकै पहिलो स्मार्ट पालिका बन्यो गुर्भाकोट

कर्णाली प्रदेशकै पहिलो स्मार्ट पालिका बन्यो गुर्भाकोट

Trulli
ADVERTISEMENT

सुर्खेत– सूचना, संचार र प्रविधिको उच्चतम प्रयोग गर्दै जनताका सेवा सुविधा र जनगुनासोलाई प्रविधिसँग जोड्ने प्रयास गर्दै गुर्भाकोट नगरपालिकाले कर्णाली प्रदेशकै पहिलो स्मार्ट नगरको रूपमा आफूलाई प्रस्तुत गरेको छ । 

 

स्मार्टपालिका प्रालि काठमाडौंको प्राविधिक सहकार्यमा डिजिटल सुशासन प्रणाली तथा मोबाइल एप तयार गरी नगरप्रमुख हस्त पुनलाई हस्तान्तरण भई शुभारम्भ भएको छ । एक वर्षको अथक प्रयासमा यो कार्यक्रम सम्पन्न गरी नगरपालिकाको जिम्मेवारी पूरा गरेको स्मार्टपालिकाका अभियान निर्देशक विवश महतले बताए । 

 

नगरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीका अनुसार नगरले पहिलो प्रविधिमय कदम चालेको छ । अबका दिनमा अझै उच्चतम प्रविधिको प्रयोग गरी गुर्भाकोट नगरपालिकाले जनताका सेवा सुविधा मोबाइलको माध्यमबाट गर्ने मात्र नभई कर्माचारीलाई समेत प्रविधिमैत्री बनाउन तत्पर रहेको खत्रीको भनाइ छ । 

 

नगरपालिकाले एक वर्षको प्रयासमा स्थानीय स्वयंसेवकको सहयोगमा पहिलो पटक डिजिटल घरधुरी तथ्यांक संकलन गरी पेपरलेस प्रणालीमा अघि बढ्ने प्रयास गरिरहेको छ ।

 

नगरप्रमुख पुनले नगरपालिकाले प्रविधिको प्रयोग गर्न बल्ल सुरु गरेको र अझै अप्ठ्यारा बाटाहरू बाँकी रहेका भन्दै तर पनि जनतालाई सूचना र प्रविधिको प्रयोग गराउँदै प्रविधिमैत्री सुशासन प्रणालीसहितका सेवा दिने प्रतिबद्धता जनाए ।

 

‘आगामी दिनमा आफ्नै डाटा सर्भर, हरेक वडामा फ्री इन्टरनेटसहित नागरिकसँग प्रत्यक्ष रूपमा जोडिने मात्र नभई नगरका आन्तरिक काम कारबाही पनि अब प्रविधिमैत्री हुनेछन्’, पुनले भने ।

 

स्मार्टपालिका सुर्खेत जिल्ला संयोजक कमलप्रसाद लामिछानेले गुर्भाकोट नगरपालिका स्मार्टपालिकाको सुरुवात भएको र केही समयमै पूरै कर्णाली प्रदेशलाई प्रविधिमय बनाउँदै सुशासन र समृद्धितर्फ अग्रसर बनाउने बताए ।